देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी, इन्टरपोलमार्फत समात्ने तयारी, सिंगापुरबाटै आयो कडा प्रतिवाद

काठमाडौं । नेपाली राजनीतिको केन्द्रविन्दुमा रहेका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि सम्पत्ति शुद्धीकरणको गम्भीर अभियोगमा कानुनी फन्दा कसिने संकेत देखिएको छ।

अस्वाभाविक आर्थिक कारोबारको ठोस प्रमाण भेटिएको दाबी गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको सिफारिसका आधारमा काठमाडौं जिल्ला अदालतले देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि राजनीतिमा ठूलो भूकम्प गएको छ। उपचारको बहानामा १४ फागुनदेखि नै देशबाहिर रहेका उनीहरू हाल हङकङमा रहेको बताइएको छ भने नेपाल प्रहरीले उनीहरूलाई स्वदेश फर्काउन अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत ‘नोेटिस’ जारी गर्ने प्रक्रिया अगाडि बढाएपछि यो प्रकरणले अन्तर्राष्ट्रिय आयाम लिएको छ।

पक्राउ पूर्जी जारी भएको खबर सार्वजनिक भएसँगै विदेशबाटै सभापति देउवाले एक कडा वक्तव्य जारी गर्दै आफूमाथि लागेका आरोपहरूलाई ‘भ्रामक र झुटा प्रचारबाजी’ को संज्ञा दिएका छन्। आफ्नो जीवनलाई खुला पुस्तकको रूपमा चित्रण गर्दै देउवाले आफू सार्वजनिक पदमा रहँदा सधैं सम्पत्तिको यथार्थ विवरण बुझाएको र भ्रष्टाचार निवारणका लागि आफ्नै कार्यकालमा महत्त्वपूर्ण कानुनहरू बनेको स्मरण गराएका छन्। लोकतान्त्रिक मूल्य र विधिको शासनका लागि जीवनभर संघर्ष गरेको दाबी गर्दै उनले उपचारको क्रम जारी रहेको र वास्तविकता समयक्रमसँगै स्पष्ट हुने भन्दै कार्यकर्ता र शुभेच्छुकहरूलाई भ्रममा नपर्न अपिल गरेका छन्। सरकार र अनुसन्धान निकायको यो कदम र देउवाको बचाउबीचको यो टकरावले आगामी दिनमा नेपालको राजनीति र सुशासनको दिशा कुन मोडमा पुग्छ भन्ने कौतुहलतालाई उत्कर्षमा पुर्‍याएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज