सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित

काठमाडौं । धादिङबाट २०४९ सालमा मजदुरी गर्ने सपना बोकेर काठमाडौं छिरेका डोलप्रसाद अर्याल (डिपी) मुलुकको व्यवस्थापिकाको सर्वोच्च पद सभामुखमा निर्विरोध निर्वाचित भएका छन्। आइतबार बिहान बसेको प्रतिनिधिसभा बैठकले उनलाई सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।

सभामुख पदका लागि अर्यालको मात्र उम्मेदवारी परेको थियो भने प्रतिपक्षी दलहरूले उम्मेदवारी दर्ता नगरेपछि उनको यात्रा सहज बनेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का १८२ सांसदसहित झन्डै दुई(तिहाइको समर्थन पाएका अर्याल निर्वाचित भएलगत्तै पार्टी सभापति रवि लामिछानेले उनलाई अँगालो मारेर बधाई दिएका थिए।

अर्यालको यो सफलता निकै छोटो समयको राजनीतिक सक्रियतापछि सम्भव भएको हो। २०७९ असार ७ गते रास्वपा गठन हुनुअघि सफल व्यवसायीका रूपमा मात्र चिनिने उनी राजनीतिमा लागेको ४२ महिना १३ दिनमै यो उच्च ओहोदामा पुग्न सफल भएका हुन्। पार्टीका संस्थापक केन्द्रीय सदस्य तथा उपसभापति रहिसकेका अर्याललाई पार्टीभित्र सन्तुलित विचार राख्ने र अन्य दलसँग संवादको कडीका रूपमा चिनिन्छ। सभापति लामिछाने विभिन्न कानुनी झमेलामा पर्दा पटक(पटक कार्यवाहक सभापतिको जिम्मेवारी कुशलतापूर्वक सम्हालेका अर्यालले पार्टीलाई संकटका बेला नेतृत्व प्रदान गरेका थिए।

सालीसको दशकमा काठमाडौंका रेस्टुरेन्टमा काम गरेर संघर्ष सुरु गरेका अर्यालको जीवन निकै उतारचढावपूर्ण रहेको छ। २०३१ सालमा धादिङको मैदीमा जन्मिएका उनले रेस्टुरेन्टको मजदुरीपछि पर्यटन क्षेत्रमा पर्यटक पथप्रदर्शकका रूपमा पनि अनुभव बटुलेका थिए। अध्ययन र व्यावसायिक अनुभवका लागि सन् १९९७ तिर जापानको ओसाका पुगेका उनी २०५८ सालमा नेपाल फर्किएर शिक्षा, रेमिटेन्स र पर्यटन क्षेत्रमा सफल उद्यमी बनेका थिए। टेलिभिजन प्रस्तोताका रूपमा रहेका रवि लामिछानेसँगको व्यावसायिक सम्बन्ध नै पछि गएर घनिष्ठ राजनीतिक सहकार्यमा बदलिएको थियो।

संसदीय यात्रामा अर्याल २०७९ सालमा समानुपातिक तर्फबाट पहिलो पटक सांसद बनेका थिए भने पुष्पकमल दाहाल ुप्रचण्डु नेतृत्वको सरकारमा दुई पटक श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। गत फागुन २१ गते भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ९ बाट भारी मतान्तरले विजयी भएका उनी वर्तमान सरकारमा गृहमन्त्रीको आकांक्षी भए तापनि राजनीतिक समझदारीका आधारमा सभामुखको जिम्मेवारी सम्हाल्ने मोडमा पुगेका हुन्।

सभामुख जस्तो गरिमामय र तटस्थ पदमा पुगेका अर्यालले अब दलीय आबद्धताबाट अलग रहनुपर्नेछ। विगतका सभामुखहरूमाथि दलीय छाया परेको आरोप लागिरहेका बेला, अर्यालले आफूलाई कसरी निष्पक्ष र तटस्थ रूपमा प्रस्तुत गर्छन् भन्ने विषयमा सबैको चासो रहेको छ। विशेषगरी २०४८ सालका सभामुख दमननाथ ढुंगानाले कायम गरेको निष्पक्षताको मानकलाई अर्यालले पछ्याउने छन् वा छैनन् भन्ने परीक्षा अब सुरु भएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज