काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते भएको हिंसात्मक घटनाको सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष आफ्नो बयान बुझाएका छन्। आयोगका पदाधिकारीहरूसँगको छलफलमा उनले मौखिक जवाफ दिनुका साथै घटनाको यथार्थ विवरण समेटिएको लिखित धारणा समेत पेस गरेका छन्। आयोगको सचिवालयमार्फत प्राप्त जानकारी अनुसार लेखकले प्रदर्शनका क्रममा सुरक्षा निकायलाई बल प्रयोग गर्न वा गोली चलाउन आफूले कुनै पनि आदेश नदिएको प्रष्ट पारेका छन्।
आफ्नो बयानमा लेखकले गृहमन्त्रीको हैसियतले आफूले शान्ति सुरक्षा कायम राख्ने विषयमा नीतिगत निर्देशन मात्र दिने गरेको उल्लेख गर्दै फिल्डमा हुने ‘अपरेसनल कमान्ड’ को सम्पूर्ण अधिकार सुरक्षा निकायका अधिकारीहरूमै निहित हुने दाबी गरे। भदौ २२ गते सुरक्षा समितिको बैठक डाकेर आफूले कुनै पनि हालतमा मानवीय क्षति हुन नदिन र सुरक्षाकर्मीलाई अधिकतम संयमता अपनाउन स्पष्ट निर्देशन दिएको समेत उनले खुलाएका छन्।
तत्कालीन गृहमन्त्री लेखकले ‘जेनजी’ आन्दोलनको आडमा लोकतन्त्रविरोधी तत्त्वहरूले घुसपैठ गरेको र शान्तिपूर्ण प्रदर्शनलाई नियोजित रूपमा हिंसात्मक दिशातर्फ मोडेको जिकिर गरेका छन्। राज्यका प्रमुख अङ्गहरूमाथि भएको आक्रमणलाई उनले लोकतन्त्र कमजोर पार्ने सुनियोजित षड्यन्त्रको संज्ञा दिएका छन्। परिस्थितिअनुसार लाठीचार्ज वा बल प्रयोग गर्ने निर्णय सुरक्षा निकायले स्वविवेकमा गरेको हुन सक्ने तर त्यसमा आफ्नो प्रत्यक्ष संलग्नता नरहेको उनको भनाइ छ। प्रदर्शनका क्रममा केही युवाहरूको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै लेखकले सोही घटनाको नैतिक जिम्मेवारी लिँदै आफूले तत्कालै पदबाट राजीनामा दिएको विषयलाई समेत आयोगसमक्ष स्मरण गराएका छन्।
यस्तो छ लेखकको बयान:

