काठमाडौं । सर्वोच्च अदालतले थुनामा रहेका महेश श्रेष्ठको तर्फबाट पेस गरिएको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरी इजलासमा पेस गर्न आदेश दिएको छ। न्यायाधीश नृपध्वज निरौलाको इजलासले निवेदन दर्ता गर्न अस्वीकार (दरपीठ) गर्ने अदालत प्रशासनको निर्णय बदर गरिदिएको हो।
सरकारले आफ्ना पति महेशलाई गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै यशोदा श्रेष्ठले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेकी थिइन्। तर, सम्बन्धित मुद्दा हेर्ने अदालतबाटै पक्राउको अनुमोदन भइसकेको र थुनाको म्यादसमेत थप भएको आधार देखाउँदै सर्वोच्च प्रशासनले उक्त निवेदन दरपीठ गरेको थियो।
प्रशासनको दरपीठ आदेशविरुद्ध परेको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश निरौलाको इजलासले विषयवस्तुको गम्भीरता हेर्दा मिसिल कागजात बुझेर इजलासबाटै निरुपण गर्नु उपयुक्त हुने ठहर गरेको छ। अदालत प्रशासनको दरपीठ आदेश बेरितको देखिएको भन्दै इजलासले रिट दर्ता गरेर सुनुवाइको प्रक्रिया अघि बढाउन बाटो खोलिदिएको हो।
राज्यका महत्त्वपूर्ण निकायका पदाधिकारीहरूको नाम दुरुपयोग गरी आपराधिक लाभ लिएको आरोपमा प्रहरीले झापाका इनम सापकोटालाई पक्राउ गरेको थियो। उनै सापकोटासँग आर्थिक कारोबार देखिएको आरोपमा प्रहरीले व्यवसायी श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

