काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउलाई अवैध ठहर गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर भएको छ। आफ्ना पति दुर्गा प्रसाईंलाई प्रहरीले कुनै पनि कानुनी आधार बिना गैरकानुनी ढङ्गले राति नै पक्राउ गरेर हिरासतमा राखेको भन्दै उनकी पत्नी उमा प्रसाईंले सोमबार सर्वोच्च अदालतमा औपचारिक रूपमा यो रिट दायर गरेकी हुन्।
प्रसाईंलाई हाल जिल्ला प्रहरी परिसर भक्तपुरको हिरासतमा राखिएको छ भने उनको गिरफ्तारीसँगै राजनीतिक तथा कानुनी वृत्तमा ठलो चर्चा र चासो बढेको छ।
प्रहरीले सार्वजनिक शान्तिको विरुद्धको कसुर गरेको अभियोग लगाएर प्रसाईंलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नुभन्दा ठीक अघि, अर्थात् आइतबार दिउँसो मात्रै प्रसाईंले एक पत्रकार सम्मेलनको आयोजना गर्दै सरकारका विरुद्ध कडा रूपमा विभिन्न आन्दोलनका कार्यक्रम तथा सङ्घर्षका घोषणाहरू गरेका थिए। सोही आन्दोलनको घोषणा र अभिव्यक्तिलाई आधार बनाएर प्रहरीले उनलाई पक्राउ गरेपछि परिवार सर्वोच्च अदालत पुगेको हो। सर्वोच्चले यस रिटमाथि सुनुवाइ गर्दै के कति कारणले पक्राउ गरिएको हो भन्ने विषयमा सम्बन्धित निकायसँग स्पष्टीकरण र कागजात माग गर्ने अपेक्षा गरिएको छ।


