सुलभ अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि ५ दिन म्याद थप

काठमाडौं । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंका प्रवक्ता दीपक कुमार श्रेष्ठका अनुसार आइतबार पक्राउ परेका अग्रवालमाथि बहस सकिएपछि अनुसन्धानका लागि उक्त म्याद थप गरिएको हो। हाल अग्रवालमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गम्भीर छानबिन गरिरहेको छ।

नेपालको प्रतिष्ठित व्यावसायिक घराना शंकर ग्रुपका सञ्चालक अग्रवाल यसअघि पनि विवादमा तानिएका व्यक्ति हुन्। २०७६ सालमा कोरोना महामारीको समयमा ज्वरो नाप्ने ‘थर्मल गन’ बढी मूल्यमा बिक्री गर्न खोजेको अभियोगमा उनी पक्राउ परेका थिए। यद्यपि, सो समयमा विभागले उनलाई तारेखमा छाडेको थियो। यसपटक पुनः सम्पत्ति शुद्धीकरणको मुद्दामा उनी विभागको फन्दामा परेका हुन्।

यस प्रकरणमा शुक्रबार शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पनि नियन्त्रणमा लिइएको थियो। तर, उनलाई भने बयान सकेर छोडिएको विभागले जनाएको छ। जगदम्बा स्टिल मुख्य कम्पनी रहेको शंकर ग्रुपले नेपालमा सिमेन्ट, जलविद्युत् र उपभोक्ता वस्तु लगायतका विभिन्न क्षेत्रमा ठूलो लगानी गर्दै आएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज