काठमाडौं । बागलुङका डा. नारायणदत्त कँडेल नेपाल सरकारको मुख्य कानुनी सल्लाहकारको रूपमा नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आइतबारको बैठकले उनलाई महान्यायाधिवक्तामा नियुक्तिका लागि सिफारिस गरेको हो। २००७ मा नेसनल युनिभर्सिटी अफ आयरल्याण्डबाट अन्तर्राष्ट्रिय शान्ति अध्ययन र २००९ मा बेलायतको अलस्टर युनिभर्सिटीबाट कानुनमा स्नातकोत्तर गरेर पछि बेलायतबाट विद्यावारिधि गरेका कँडेलको परिचय अहिले कानूनविद्का रूपमा रहे पनि उनको व्यावसायिक जग भने पत्रकारिताले निर्माण गरेको हो।
डा. कँडेलले २०४९ सालदेखि एक दशकभन्दा बढी समय रेडियो नेपाल र राजधानी दैनिक लगायतका सञ्चार माध्यममा समाचारदाताको रूपमा काम गरेका थिए। पत्रकारिताकै क्रममा उनी २०५८ देखि २०६० सम्म नेपाल पत्रकार महासंघ धौलागिरी शाखाको सभापति समेत बनेका थिए। पछि कानून क्षेत्रतर्फ मोडिएका उनले २०६० सालमा अधिवक्ताको अनुमति पत्र लिएर औपचारिक कानूनी यात्रा सुरु गरे।
अन्तर्राष्ट्रिय शान्ति अध्ययन र कानूनमा स्नातकोत्तर समेत गरेका कँडेलले आफ्नो करियरमा फ्रिडम फोरम र एम्नेष्टी इन्टरनेसनल जस्ता संस्थाहरूमार्फत मानव अधिकार र कानूनी शासनको पक्षमा निरन्तर वकालत गर्दै आएका छन्। पत्रकारिताको अनुभव र उच्च प्राज्ञिक योग्यताको सम्मिश्रण रहेका कँडेल अब सरकारको सर्वोच्च कानूनी सल्लाहकारको भूमिकामा देखिनेछन्।

