काठमाडौँ जिल्ला अदालतका क्षतिग्रस्त मिसिल पुनःप्राप्तिका लागि ३० दिनको म्याद थप

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले २०८२ भदौ २३ र २४ गते भएको आगजनी तथा तोडफोडका घटनाबाट क्षति पुगेका वा नष्ट भएका चालू मिसिल पुनःप्राप्तिका लागि थप ३० दिनको म्याद दिएको छ।

अदालतले आइतबार सूचना जारी गर्दै सर्वोच्च अदालतबाट स्वीकृत विशेष परिस्थितिका कारण नष्ट भएका मिसिल कागजातको प्राप्ति र प्रमाणीकरणसम्बन्धी निर्देशिका, २०८२ बमोजिम सूचना प्रकाशित गरिएको जनाएको हो। सो सूचनाअनुसार, सम्बन्धित मुद्दाका वादी, प्रतिवादी तथा सरोकारवाला पक्षले मिसिल पुनःप्राप्तिका लागि आवश्यक कागजातसहित अदालतमा उपस्थित हुनुपर्नेछ।

यसअघि जारी सूचनामा तोकिएको म्याद २०८२ असोज २४ गते सकिने भए पनि अब म्याद थप गरी २०८२ कार्तिक २४ गतेसम्म ३० दिनको समयावधि प्रदान गरिएको अदालतले जनाएको छ। उक्त अवधिभित्र फिरादपत्र, प्रतिउत्तरपत्र, बयान, बकपत्र, तारेख पर्ची, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, आदेश, लिखत प्रमाण तथा मिसिलसँग सम्बन्धित अन्य आवश्यक कागजातहरू पेश गर्न आग्रह गरिएको छ।

अदालतले तोकिएको समयसीमाभित्र सम्बन्धित कागजात अनिवार्य रूपमा पेश गर्न अनुरोध गर्दै सूचना अदालतको सूचना पाटी तथा वेबसाइटमार्फत सार्वजनिक गरिएको जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज