रास्वपा–बालेनबीच एकता समझदारी, प्रधानमन्त्रीको उम्मेदवार बालेन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच राजनीतिक एकतासम्बन्धी समझदारी भएको छ । दुवै पक्षबीच भएको सात बुँदे सहमतिअनुसार पार्टी नेतृत्व र आगामी राजनीतिक कार्यदिशा तय गरिएको छ ।

सम्झौताअनुसार रास्वपाको केन्द्रीय नेतृत्व सभापति रवि लामिछानेले सम्हाल्नेछन् भने आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवारका रूपमा बालेन शाहलाई अघि सारिनेछ । पार्टीको चुनाव चिह्न घण्टी नै रहने र केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने सहमतिमा उल्लेख छ ।

दुवै पक्षले भ्रष्टाचार र कुशासनविरुद्ध युवाहरूले थालेको आन्दोलनको अपनत्व लिँदै घाइते तथा सहिद परिवारका मागलाई यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । साथै, गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्यसहित अघि बढ्ने उल्लेख गरिएको छ ।

एकतापछि पार्टीको संगठनात्मक संरचनालाई थप सशक्त बनाउँदै युवा अभियन्ता र अनुभवी विज्ञलाई योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा जिम्मेवारी दिने सहमति भएको छ । यससम्बन्धी आवश्यक दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिने पनि जनाइएको छ ।

सम्झौतामा रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले हस्ताक्षर गरेका छन् । साथै, लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा गोलबद्ध हुन अन्य वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिलाई समेत आह्वान गरिएको छ ।

७ बुँदे सम्झौताका विषयवस्तुहरु–

१. नवयुवाहरुले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिंई घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्वोधन गर्ने प्रतिवद्धता जनाउने,

२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने,

३. पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,

४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,

५. बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,

६. यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,

७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह घण्टी मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आह्वान गर्ने।

सम्बन्धित समाचार

ताजा न्यूज