जेनजी आन्दोलन छानबिन: पूर्वगृहमन्त्री रमेश लेखकलाई आयोगको बयानका लागि बोलावट

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्राचार गरेको छ।

आयोगका अनुसार मंगलबार लेखकलाई औपचारिक रूपमा पत्र पठाइएको हो। पत्रमा उनलाई तोकिएको समयभित्र आयोगमा उपस्थित भई बयान दिन आग्रह गरिएको छ। आयोग स्रोतका अनुसार लेखकलाई सात दिनभित्र बयानका लागि उपस्थित हुन भनिएको छ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको क्षति, प्रशासनिक निर्णय र सुरक्षाका उपायबारे तथ्य संकलन गर्ने क्रममा आयोगले यसअघि प्रशासनिक तथा प्रहरी अधिकारीहरूसँग बयान लिइसकेको छ। ती प्रक्रिया सकेपछि आयोग राजनीतिक नेतृत्वतर्फ केन्द्रित भएको हो।

आयोगले लेखकपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने तयारी गरिरहेको जनाएको छ। यद्यपि, ओलीलाई हालसम्म औपचारिक पत्र भने काटिएको छैन।

उक्त आन्दोलनका घटनाबारे छानबिन गर्न तत्कालीन सरकारले गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले घटनासँग सम्बन्धित सबै पक्षको बयान लिएर प्रतिवेदन तयार गर्ने तयारी गरिरहेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज