काठमाडौं । १०० भन्दा बढी व्यक्तिको मिर्गौला गैरकानुनी रूपमा बिक्रीमा संलग्न गिरोहका मुख्य नाइकेलाई प्रहरीले पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ का ३८ वर्षीय श्यामकृष्ण भण्डारीलाई नियन्त्रणमा लिएको हो।
ब्युरोका प्रमुख एसएसपी कृष्ण पंगेनीका अनुसार भण्डारी विगत तीन वर्षदेखि भारतीय आधारकार्ड बनाएर नयाँदिल्लीमा बस्दै आएका थिए। उनले आर्थिक रूपमा कमजोर नेपालीहरूलाई विभिन्न प्रलोभन देखाएर भारत लगेपछि दिल्लीका अस्पताल र क्लिनिकहरूमा मिर्गौला बिक्री गर्ने काम गर्दै आएको खुलासा भएको छ।
“सोधपुछमा उनले कम्तीमा २५ जनाको मिर्गौला प्रत्यक्ष रूपमा बिक्री गराएको स्वीकार गरेका छन्,” एसएसपी पंगेनीले आइतबार पत्रकार सम्मेलनमा जानकारी दिए, “तर हाम्रो तथ्यांकअनुसार १०० भन्दा बढी व्यक्तिको मिर्गौला यो गिरोहले बिक्री गरिसकेको छ।”
पीडितहरूलाई ६ लाख रुपैयाँ दिने भन्दै भारत लगिने र धेरैजसो अवस्थामा वाचा गरिएको रकम पनि नदिइने गरेको प्रहरीले जनाएको छ।
भण्डारीसँगै गिरोहमा संलग्न सिन्धुपाल्चोककै इन्द्रावती–२ निवासी सुजन भारतीलाई पनि प्रहरीले पक्राउ गरेको छ। कञ्चनपुर र वीरगन्जबाट क्रमशः भण्डारी र भारतीलाई पक्राउ गरिएको हो।
गत २० साउनमा पक्राउ परेका राकेश नेपाली, समीर नेपाली र राजकुमार नेपालीसँगको सोधपुछपछि यो ठुलो गिरोहको वास्तविक स्वरूप बाहिर आएको हो। हालसम्म पाँच पीडितले आधिकारिक रूपमा जाहेरी दिएका छन् भने अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

