रास्वपा नेता अरनिको पाँडे साइबर अपराधको आरोपमा पक्राउ, अनुसन्धान जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडे अनलाइनमार्फत महिलामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।

साइबर ब्युरोका अनुसार बुधवार पाँडेलाई उजुरी सम्बन्धी छलफलका लागि भोटाहिटीस्थित कार्यालयमा बोलाइएको थियो। सोही क्रममा उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको हो।

पाँडे रास्वपाको सिफारिसमा तत्कालीन सरकारको कार्यकालमा राष्ट्रिय योजना आयोगको सदस्य बनेका थिए। उनी हाल पनि पार्टीभित्र सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

साइबर ब्युरोले हालसम्म पाँडेमाथि लागेको आरोपको विस्तृत विवरण सार्वजनिक गरेको छैन। तर, अनुसन्धान प्रक्रिया अघि बढाइएको ब्युरोले जनाएको छ।

यसअघि बुधवार नै एमालेका केन्द्रीय सदस्य ऐन महर पनि उस्तै प्रकृतिको उजुरीका आधारमा पक्राउ परेका थिए। महरलाई भने बयानपछि अदालतको आदेशमा हाजिरी जमानीमा रिहा गरिएको थियो, तर पाँडेलाई भने थप अनुसन्धानका लागि हिरासतमा राखिएको हो।

 

सम्बन्धित समाचार

ताजा न्यूज