काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले टाइपमा भएको त्रुटि सच्याउँदै नयाँ आदेश जारी गरेको छ।
शुक्रबार न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको थियो। तर, त्यस आदेशको शीर्ष भागमा ‘फैसला’ शब्द लेखिएको देखिएपछि आइतबार पुनः पेसी राखेर त्रुटि सच्याइएको हो।
सर्वोच्चले आइतबार जारी गरेको आदेशमा भनिएको छ, “जेठ ९ मा भएको आदेशको शिर खण्डको चौथो हरफमा ‘आदेश’ हुनुपर्नेमा टाइप गर्दा भुलवश ‘फैसला’ लेखिएको देखिएकाले न्याय प्रशासन ऐन, २०७३ को दफा १८(३) बमोजिम त्रुटि सच्याइएको छ।”
उक्त त्रुटिको जानकारी इजलास अधिकृतबाट प्रतिवेदनमार्फत दिइएको थियो। सोही आधारमा इजलासले आदेश सच्याएको हो।
यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते लामिछानेलाई थुनामै राख्न आदेश दिएको थियो। सर्वोच्चले सो आदेशलाई सदर गर्दै पुर्पक्षका लागि थुनामै राख्ने निर्णय गरेको छ।
अब मुद्दाको टुंगो नलागेसम्म रवि लामिछाने थुनामै रहनेछन्। अन्तिम फैसला आएपछि मात्र उनको कानुनी अवस्थाबारे टुंगो लाग्नेछ।