काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले दर्ता भई अनुसन्धानको प्रक्रियामा रहेका घटनाहरूका सम्बन्धमा भ्रामक र अप्रमाणित सूचना सम्प्रेषण नगर्न आग्रह गरेको छ।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक जोडिएको ज्यानसम्बन्धी कसूरको अनुसन्धानबारे सामाजिक सञ्जाल र युट्युब च्यानलहरूमा आएका सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
सर्वोच्च अदालतको परमादेश र सरकारी वकिल कार्यालयको निर्देशनअनुसार माथवर व्यक्तिको जमानीमा राखेर विधिसम्मत ढंगले अनुसन्धान भइरहेको स्पष्ट पार्दै प्रहरीले जिम्मेवार अधिकृतहरूलाई जोडेर अनर्गल प्रचार नगर्न सचेत गराएको छ। जनमानसमा गलत सन्देश प्रवाह हुने खालका अप्रमाणित सूचना सिर्जना र प्रसारण नगर्न प्रहरीले सम्बन्धित सबैमा अनुरोध गरेको छ।

