काठमाडौँ । कानुनविद्हरूले राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई असंवैधानिक तरिकाले नियुक्त गरेको बताएका छन् । पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता मुक्ति प्रधानले राष्ट्रपतिले संविधानको धारा ७६ /२ अनुसार प्रधानमन्त्रीको लागि आह्वान गरेर असंवैधानिक कदम उठाएको बताए ।
“संविधानका धारा ७६ २ अनुसार नियुक्त भएका प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि स्वतः ७६/ ३ मा जानुपर्ने थियो । तर, राष्ट्रपतिले अंसवैधानिक कदम उठाएर प्रधानमन्त्रीको लागि दाबी पेश गर्न आह्वान गर्नुभएको छ । यसले राष्ट्रपतिको संविधानको रक्षकको भूमिका रहन सक्नुभएन” प्रधानले भने । हामी यो विषयलाई सर्वोच्च अदालत लान्छौ। अदालत जान्छौ ।आइतबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानले यस्तो बताएका हुन् ।
स्वतन्त्र कानुन व्यवसायी मंचका अध्यक्ष तथा अधिवक्ता यज्ञमणी न्यौपानेले राष्ट्रपतिले संविधान धारा ७६ /२ अनुसार प्रधानमन्त्रीको लागि दाबी पेश गर्न आह्वान गरेर संविधान च्यात्ने काम गरेको बताए । उनले राष्ट्रपति संविधानको रक्षक हुनुपर्नेमा भक्षक भएको बताए ।

