सांसद खतिवडाविरुद्ध टिप्पणी प्रकरण: दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडामाथि युट्युबमार्फत अपमानजनक टिप्पणी गरेको अभियोगमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको छ। जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मङ्गलबार प्रसाईंसँग दुई लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको हो।

विद्युतीय (इलेक्ट्रोनिक) कारोबार सम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई गत असार १२ गते नियन्त्रणमा लिएको थियो। रास्वपा सांसद खतिवडाले आफ्नो चरित्रहत्या हुने गरी सामाजिक सञ्जालमा मर्यादाविपरीत अभिव्यक्ति दिएको भन्दै दिएको कानुनी उजुरीका आधारमा प्रहरीले प्रसाईंविरुद्ध विद्युतीय अपराध ऐन अनुसार अदालतमा मुद्दा दर्ता गरेको थियो।

प्रसाईंमाथि युट्युबमार्फत सांसद खतिवडाले आफ्ना छोराको शवसँग सांसद पद साटेको भन्दै असंवेदनशील तथा आपत्तिजनक टिप्पणी गरेको आरोप लागेको थियो। सो मुद्दामा थुनछेक बहस सकिएपछि अदालतले प्रसाईंलाई पुर्पक्षका लागि हिरासतमै राखिराख्नुनपर्ने ठहर गर्दै दुई लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त हुन पाउने कानुनी आदेश दिएको हो।

सम्बन्धित समाचार

ताजा न्यूज