काठमाण्डौं । नेपाल धितोपत्र बोर्डका कार्यकारी अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन् । शुक्रबार बसेको बोर्डको सञ्चालक समिति बैठकमा श्रेष्ठले राजीनामाको घोषणा गरेका हुन् ।
धितोपत्र ऐनको प्रावधान बमोजिम बोर्ड अध्यक्षले सरकार समक्ष राजीनामा बुझाउनुपर्ने व्यवस्थाअनुसार उनले शनिबार अर्थमन्त्रीलाई भेटेर औपचारिक पत्र बुझाउने तयारी गरेका छन् । सरकारलाई कार्यसम्पादनमा सहयोग गर्ने उद्देश्यले आफूले मार्गप्रशस्त गरेको उनले सञ्चालकहरूलाई जानकारी गराएका छन् ।
गत २०८१ मंसिर १० गते मात्रै अध्यक्षमा नियुक्त भएका श्रेष्ठको कार्यकाल विवादरहित रहन सकेन । व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानमा श्रेष्ठको नाम समेत मुछिएपछि सरकारले उनलाई पद त्याग गरी अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको थियो । सोही दबाब र पछिल्ला घटनाक्रमका कारण उनले नियुक्ति पाएको छोटो समयमै पद छाड्ने निर्णय लिएका हुन् ।
अध्यक्षको राजीनामासँगै बोर्डले बजारका अन्य कैफियतमाथि पनि कडा कदम चालेको छ । शुक्रबारकै बैठकले हिमालयन सेक्युरिटिज ९ब्रोकर नम्बर ९६० लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । दीपक भट्ट र शाहिल अग्रवालको नाम जोडिएको गैरकानुनी सेयर कारोबारमा उक्त ब्रोकर कम्पनीको समेत संलग्नता देखिएपछि बोर्डले यस्तो एक्सन लिएको हो । नेतृत्व परिवर्तन र नियामकीय कारबाहीको यो दोहोरो घटनाले पुँजी बजार वृत्तमा ठूलो तरंग पैदा गरेको छ ।

