काठमाडौं । बालबालिका सम्बन्धी कसुरको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेश सभा सदस्य रेखाकुमारी शर्मालाई हिरासतमुक्त गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। न्यायाधीश जगतबहादुर पौडेलको इजलासले म्याद थपका लागि उपस्थित गराइएकी शर्मालाई थुनामै राखेर अनुसन्धान गरिरहनु पर्ने पर्याप्त आधार र औचित्य नदेखिएको भन्दै रिहा गर्न आदेश जारी गरेको हो।
अदालतले आफ्नो आदेशमा महान्यायाधिवक्ताको कार्यालयले गत जेठ १६ गते नै उक्त मुद्दा नचल्ने निर्णय गरिसकेको विषयलाई मुख्य आधार बनाएको छ। “रेखाकुमारी शर्मा उपर मुद्दा नचल्ने भई आएको निर्णय समर्थन गरी अन्तिम निकासा पठाइदिने निर्णय भइसकेको विषयमा पुनः सोही विषयमा प्रतिवादीलाई थुनामै राखी मुद्दा पुर्पक्ष गर्नुपर्ने अवस्था नदेखिँदा, उनलाई हिरासतबाट मुक्त गरी मुद्दाको अनुसन्धान गर्नू,” अदालतको आदेशमा उल्लेख छ। यसअघि नै भएको निर्णयलाई समर्थन गरी अन्तिम निकास दिइसकेको अवस्थामा पुनः सोही कसुरमा हिरासतमा राख्न आवश्यक नहुने अदालतको ठहर छ।
प्रहरीले सांसद शर्मालाई चैत १५ गते दर्ता भएको नयाँ जाहेरीका आधारमा चैत १६ गते पक्राउ गरेको थियो। यद्यपि, उक्त जाहेरी पुरानै कसुरसँग सम्बन्धित रहेको पाइएको छ। म्याद थपका लागि अदालतमा उपस्थित गराउँदा सरकारी वकिलले सम्बन्धित मिसिल फाइल आगजनीमा परी नष्ट भएको जिकिर गर्दै उक्त फाइलको सनाखत गर्न समय माग गरेका थिए। सोही प्रयोजनका लागि अदालतले यसअघि तीन दिनको म्याद दिएको भए तापनि हाल उनलाई हिरासत बाहिरै राखेर बाँकी अनुसन्धान प्रक्रिया अघि बढाउन बाटो खोलिदिएको छ।


