काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित चार जना न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिले उजुरी माग गरेको छ। सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित न्यायाधीशहरूबारे उजुरी तथा सूचना दिन सर्वसाधारणका लागि १० दिनको म्याद तोकेर सूचना जारी गर्ने निर्णय गरेको हो।
समितिका सभापति बोधराज श्रेष्ठका अनुसार संसदीय सुनुवाइ कार्यविधिबमोजिम सार्वजनिक माध्यममार्फत उजुरी आह्वान गर्न सचिवालयलाई निर्देशन दिइसकिएको छ। उजुरी संकलन प्रक्रिया सकिएपछि प्रस्तावित नामहरूमाथि थप सुनुवाइ अघि बढाइनेछ।
यसअघि न्याय परिषद्को असोज २ गते बसेको बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दसहित उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीश पदका लागि सिफारिस गरेको थियो।

