काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि लागेका गम्भीर आरोपहरूबारे आन्तरिक अनुसन्धान प्रक्रिया थालेको छ। सञ्चारमाध्यममा सार्वजनिक भएको अडियो र समाचारलाई गम्भीरतापूर्वक लिँदै पार्टीले केन्द्रीय अनुशासन आयोगलाई यस विषयमा तत्काल सत्यतथ्य छानबिन गर्न निर्देशन दिएको छ।
पार्टीका महामन्त्री विपिन आचार्यद्वारा जारी विज्ञप्तिअनुसार महिलाको सम्मान र मर्यादामा आँच पुर्याउने व्यवहार, अवाञ्छित धम्की तथा अनुचित आर्थिक लेनदेन जस्ता संवेदनशील विषयमा रास्वपाले शून्य सहनशीलताको नीति अपनाएको छ। सुशासन र विधिको शासनप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै पार्टीले आफ्ना जनप्रतिनिधि वा सदस्यमाथि उठ्ने यस्ता गम्भीर प्रश्नहरूलाई सामान्य रूपमा लिन नसकिने प्रस्ट पारेको छ।
छानबिन प्रक्रिया अघि बढेसँगै रास्वपाले सांसद सुनारलाई सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन रोक लगाएको छ। यसका साथै, फौजदारी कसुर र दुर्व्यवहारसम्बन्धी यस विषयमा राज्यका नियमनकारी तथा अनुसन्धानकारी निकायहरूले गर्ने अनुसन्धानमा पूर्ण रूपमा सहयोग र समन्वय गर्ने प्रतिबद्धता पनि पार्टीले व्यक्त गरेको छ। जनआस्था अनलाइनले सांसद सुनारले एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्क्याएको श्रव्य सामग्रीसहितको समाचार प्रसारण गरेपछि यो मामला सार्वजनिक भएको हो।

