काठमाडौं । नेपाल मेडिकल काउन्सिलले पछिल्लो समय सामाजिक सञ्जालमार्फत अव्यवस्थित रूपमा स्वास्थ्य परामर्श दिने र बिरामीको गोपनीयता भंग गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई कडा चेतावनी दिएको छ। काउन्सिलले मिति सूचना जारी गर्दै टिकटक, इन्स्टाग्राम र फेसबुक जस्ता प्लेटफर्ममा अनलाइन परामर्श को नाममा बिरामीको भिडियो सामग्री सार्वजनिक गर्ने, औषधि प्रयोगको सुझाव दिने र विना परीक्षण औषधि सिफारिस गर्ने कार्यप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
स्वास्थ्य सेवा जस्तो अत्यन्त संवेदनशील क्षेत्रमा बिरामीको उचित शारीरिक परीक्षण, आवश्यक प्रयोगशाला जाँच र काउन्सिलमा दर्ता भएका चिकित्सकको प्रत्यक्ष मूल्यांकन विना सामाजिक सञ्जालको भरमा औषधि खान सुझाव दिनु वा त्यस्तो सल्लाह प्रचार गर्नुले बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्ने काउन्सिलको ठहर छ। यस्ता गैरजिम्मेवार र अवैज्ञानिक सूचना तथा सल्लाहले सर्वसाधारणमा भ्रम सिर्जना गर्नुका साथै गलत औषधिको प्रयोगले स्वास्थ्यमा गम्भीर क्षति र दीर्घकालीन हानि पुग्ने उच्च सम्भावना रहने तथ्यलाई काउन्सिलले स्पष्ट पारेको छ।
यस परिस्थितिमा काउन्सिलले सम्पूर्ण सम्बन्धित चिकित्सक तथा स्वास्थ्यकर्मीहरूका लागि कडा निर्देशन जारी गरेको छ। निर्देशन अनुसार बिरामीसँग सम्बन्धित भिडियो सामग्री सार्वजनिक नगर्न र गर्नै पर्ने विशेष अवस्था भएमा बिरामीको अनुहार र पहिचान कुनै पनि हालतमा नखुलाउन भनिएको छ। साथै, सामाजिक सञ्जालमार्फत विना परीक्षण औषधि सिफारिस गर्ने कार्य तुरुन्त बन्द गर्न र कुनै पनि स्वास्थ्य सम्बन्धी जानकारी वा परामर्श दिँदा वैज्ञानिक आधार, प्रमाणित तथ्य र पेशागत आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराइएको छ। काउन्सिलले सर्वसाधारणलाई समेत सामाजिक सञ्जालमा देखिने अप्रमाणित सल्लाहको भरमा औषधि प्रयोग नगरी योग्य तथा दर्ता प्राप्त चिकित्सकसँग मात्र परामर्श लिन विशेष आग्रह गरेको छ।
रजिष्ट्रार डा. सतिश कुमार देवद्वारा हस्ताक्षरित उक्त सूचनामा उल्लेखित निर्देशनहरूको उल्लंघन गरिएमा काउन्सिलको ऐन तथा प्रचलित कानुन र नियम अनुसार कडा कारबाही गरिने व्यहोरा समेत जानकारी गराइएको छ।



