काठमाडौं । सम्पत्ति शुद्धीकरणको गम्भीर अभियोगमा अनुसन्धान खेपिरहेका नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्कालाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
काठमाडौँ जिल्ला अदालतले खड्कामाथि विस्तृत अनुसन्धानका लागि आज दोस्रोपटक म्याद थपको निर्णय सुनाएको हो। गत चैत १५ गते पक्राउ परेका खड्कालाई यसअघि पनि अदालतले ७ दिन नै हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।
पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काको सङ्कटको बिउ गत भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा रोपिएको थियो। सो दिन प्रदर्शनकारीले उनको घरमा तोडफोड र आगजनी गर्दा घरभित्र ठूलो परिमाणमा नेपाली र विदेशी मुद्रा जलेको भिडियो तथा तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए। कतिपय प्रदर्शनकारीले त घरबाट सग्ला नोटहरू नै बोकेर हिँडेका दृश्यहरू समेत बाहिरिएका थिए। सोही बरामद रकम र शंकास्पद धनको स्रोतबारे अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको गृहमन्त्री सुधन गुरुङले स्पष्ट पारिसकेका छन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यस प्रकरणलाई निकै गम्भीरताका साथ लिँदै खड्काको घरबाट जलेका नोटका टुक्रा र खरानीसमेत संकलन गरेर प्राविधिक परीक्षण गरिरहेको छ। घरमा त्यति ठूलो रकम किन र कसरी राखिएको थियो भन्ने विषय नै अहिले अनुसन्धानको मुख्य केन्द्रविन्दु बनेको छ।

