सरकारी कार्यालय र शिक्षण संस्थामा साताको दुई दिन सार्वजनिक बिदा

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि र आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै सरकारले आगामी सोमबारदेखि लागू हुने गरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने विशेष निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले इन्धन खपत घटाउने उद्देश्यले सातामा दुई दिन बिदा दिने व्यवस्था गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। मन्त्री पोखरेलका अनुसार इरान र अमेरिका-इजरायल युद्धका कारण नेपालमा इन्धन संकट चुलिँदै गएको र पेट्रोलको मूल्य प्रतिलिटर २ सय २ रुपैयाँ पुगिसकेकाले यो बाध्यात्मक कदम चालिएको हो।

यस नयाँ निर्णयसँगै सरकारले कार्यालय समयमा पनि हेरफेर गरेको छ, जसअनुसार शैक्षिक संस्थाबाहेकका अन्य सरकारी कार्यालयहरू अब बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछन्। इन्धनमाथिको परनिर्भरता कम गर्न मन्त्रिपरिषद्ले डिजेल तथा पेट्रोलबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय समेत गरेको छ। बढ्दो महँगी र इन्धनको अभावबाट सिर्जित आर्थिक भार कम गर्न सरकारले प्रशासनिक र शैक्षिक दुवै क्षेत्रमा यो नयाँ नियम कडाइका साथ लागू गर्न लागेको हो।

सम्बन्धित समाचार

ताजा न्यूज