काठमाडौँ । मलेसिया जाने नेपाली कामदारबाट स्वास्थ्य परीक्षणका नाममा गैरकानूनी रूपमा रकम असुली गरी ठगी गरेको प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले पूर्वमुख्यसचिव एकनारायण अर्यालको निवासमा छापा मारेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुढानीलकण्ठस्थित अर्यालको घरमा छापा मारी यस प्रकरणसँग सम्बन्धित कागजात तथा प्रमाणहरूको खोजी गरेको छ। वैदेशिक रोजगारीका क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव रहेका बेला उनले पदको दुरुपयोग गरी सिन्डिकेटमार्फत अवैध रूपमा रकम उठाएको र सो रकम विदेश पुर्याएको गम्भीर आरोप रहेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मलेसिया जाने कामदारहरूबाट असुल गरिएको १ अर्ब ६९ करोडभन्दा बढी रकम गैरकानूनी रूपमा विभिन्न माध्यमबाट मलेसिया पठाइएको खुल्न आएको छ। सिन्डकेट खडा गरेर गरिएको यो आर्थिक अनियमिततामा मन्त्रालयका उच्च अधिकारी, राजदूतावासका कर्मचारी तथा अन्य व्यक्तिहरूको समेत संलग्नता रहेको पाइएको छ।
यसअघि भारतबाट पक्राउ परेका अर्यालसहित यस प्रकरणमा मुछिएका व्यक्तिहरूमाथि मुलुकी फौजदारी संहिता र संगठित अपराध निवारण ऐन बमोजिम कानुनी कारबाही अगाडि बढाइएको छ। सीआईबीले पक्राउ परेका प्रतिवादीहरूलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान कार्य जारी राखेको छ।
कानुन विपरीत संगठित रूपमा गरिएको आर्थिक ठगीका यस्ता घटनाले वैदेशिक रोजगार क्षेत्रलाई थप प्रभावित बनाएको छ भने संलग्नहरूलाई न्यायको दायरामा ल्याउन अदालतको आदेशपछि कडा अनुसन्धान भइरहेको छ।

