मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ

काठमाडौँ । विभिन्न विवादास्पद गतिविधि, आक्रामक अभिव्यक्तिका कारण लगातार चर्चा र विवादमा रहँदै आएका चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको एक संयुक्त विशेष प्रहरी टोलीले प्रसाईंलाई उनकै निवास वा भक्तपुर क्षेत्रबाट केहीबेर अघि मात्र नियन्त्रणमा लिएको हो।

पछिल्लो समय राज्यव्यवस्था, सरकार र विभिन्न समसामयिक राजनीतिक विषयहरूमाथि कडा प्रहार गर्दै आन्दोलनको घोषणा गर्दै आएका प्रसाईंको यो पक्राउलाई राजनीतिक तथा सुरक्षा वृत्तमा निकै चासोका साथ हेरिएको छ।

पक्राउ पर्नुभन्दा केही घण्टा अगाडि मात्रै दुर्गा प्रसाईंले एक पत्रकार सम्मेलनको आयोजना गर्दै देशमा हिन्दू राष्ट्र कायम गर्न तथा राजसंस्था पुनस्र्थापना गर्ने मुख्य उद्देश्यसहित सशक्त जनआन्दोलनको घोषणा गरेका थिए। पत्रकार सम्मेलनका क्रममा उनले सरकारविरुद्ध थप आक्रामक रूपमा प्रस्तुत हुने चेतावनी दिएका थिए र आफ्ना समर्थकहरूलाई सडकमा उत्रिन आह्वान गरेका थिए। यसअघि पनि उनले दिएका विभिन्न उत्तेजक, भड्काउ तथा विवादास्पद अभिव्यक्तिहरूका कारण सार्वजनिक शान्ति र सुरक्षामा खलल पुग्न सक्ने आशङ्का व्यक्त गर्दै सुरक्षा निकायहरूले उनीमाथि सूक्ष्म निगरानी राख्दै आएका थिए। आन्दोलनको औपचारिक घोषणा गरेर आफ्ना आगामी राजनीतिक कार्यक्रमहरू अगाडि बढाउने तयारी गरिरहेकोले प्रहरीले उनलाई  नियन्त्रणमा लिएको हो।

सम्बन्धित समाचार

ताजा न्यूज