काठमाडौं। नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए) काठमाडौंको आसन्न निर्वाचन निर्धारित मितिमा नहुने प्रबल सम्भावना देखिएको छ। मतदाता नामावलीमा त्रुटि रहेको भन्दै पूर्वअध्यक्षसहित वरिष्ठ अधिवक्ताहरूले नामावली परिमार्जनको माग गर्दै आधिकारिक रूपमा निवेदन दिएका छन्।
निर्वाचनको मिति यसअघि असार २८ गते तोकिएको थियो भने डिएलएको उम्मेदवार छनोट गर्न आन्तरिक निर्वाचन असार १३ गतेका लागि तय गरिएको थियो। तर, आन्तरिक निर्वाचनका लागि सार्वजनिक गरिएका मतदाता नामावलीमा काठमाण्डौं जिल्ला अदालत बार एशोसिएसनका सदस्य नभएका, सदस्य बन्ने कानुनी योग्यता पूरा नगरेका तथा अन्य इकाइका सदस्य समेत सूचीकृत रहेको दाबी गर्दै वरिष्ठ अधिवक्ताहरूले आपत्ति जनाएका छन्।
यस सम्बन्धमा पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ताहरू केदार कार्की, योगेन्द्रबहादुर अधिकारी, लिलामणि पौडेल, गणेशप्रसाद अधिकारी, राजेश्वर अधिकारी, अधिवक्ता श्रीराम दवाडी र कृष्णप्रसाद पनेरुले संयुक्त रूपमा निवेदन दिएका छन्।
उनीहरूले मतदाता नामावलीमा कानून व्यवसायीको न्यूनतम योग्यता नपुगेका व्यक्तिहरूको नाम हटाउन माग गर्दै निष्पक्ष र स्वच्छ निर्वाचन सुनिश्चित गर्न निर्वाचन समिति तथा कार्यसमितिको गम्भीर ध्यानाकर्षण गराएका छन्।
यो विवाद समाधान नभए आगामी निर्वाचन मिति सारिने निश्चित प्रायः देखिएको छ। निर्वाचन समितिले यस विषयमा चाँडै निर्णय लिने अपेक्षा गरिएको छ।

