प्रारम्भिक बाल शिक्षादेखि कक्षा ३ सम्मः किन र कसरी बनाउने एउटै ‘अर्ली ग्रेड इकोसिस्टम’?

प्रारम्भिक बाल शिक्षादेखि कक्षा ३ सम्मको अवधिलाई छुट्टाछुट्टै रूपमा नभई एउटै निरन्तर ‘अर्ली ग्रेड इकोसिस्टम’ (प्रारम्भिक कक्षा) का रूपमा विकास गर्नुपर्ने आवश्यकताका बारेमा पछिल्लो समय सघन छलफल भइरहेको छ। बालबालिकाको समग्र विकास, सिकाइ निरन्तरता, शिक्षक सहकार्य र नीतिगत स्पष्टताका माध्यमबाट गुणस्तरीय प्रारम्भिक शिक्षा सुनिश्चित गर्ने विषय यसले कसरी सहयोग गर्छ भन्ने विषयमा केन्द्रित रहेर कानून खबरले शिक्षा क्षेत्रमा क्रियाशील अधिवक्ता तथा शिक्षाविद् अनिल आचार्यसँग कुराकानी गरेको छ। प्रस्तुत छ कुराकानीको सम्पादित अंश:

प्रश्न: प्रारम्भिक बाल शिक्षा (ECE) लाई कतिपयले विद्यालय जाने पूर्वतयारी वा साना बालबालिकालाई हेर्ने ठाउँ मात्र ठान्छन् नि, यसको वास्तविक उद्देश्य र स्वरूप कस्तो हुनुपर्छ ?

उत्तर: प्रारम्भिक बाल शिक्षा बालबालिकालाई विद्यालयमा छिराउने ठाउँ वा कक्षा १ मा प्रवेश गर्नुअघि अक्षर र अंक चिनार गराउने तयारी कक्षा मात्र होइन। यो बालबालिकाको शारीरिक, बौद्धिक, भाषिक, सामाजिक, संवेगात्मक तथा सिर्जनात्मक विकासको जग बसाउने अत्यन्त महत्वपूर्ण चरण हो। यस अवधिमा खेल, अनुभव, अन्तरक्रिया, खोज र अवलोकनमार्फत बालबालिकाले संसार बुझ्न सिक्छन्।

प्रश्न: बालबालिकाको सिकाइको यो महत्वपूर्ण आधारलाई बुझ्ने सन्दर्भमा नेपाली अभिभावकहरूमा कस्तो दुई प्रकारको विरोधाभासपूर्ण धारणा पाइएको छ ?

उत्तर: नेपाली अभिभावकहरूमा मुख्यतया दुई प्रकारका सोचाइ पाइन्छन्। एकथरी अभिभावक बालबालिका सानै हुँदा प्ले-स्कुल पठाएर आफू रोजगार, पेसा वा व्यवसायमा समय दिन चाहन्छन्। अर्कोथरी अभिभावकहरू सानै उमेरमा झोला, किताब र पढाइको बोझ दिनुभन्दा घरमै खेल्न र रमाइलो गर्न दिनुलाई उचित ठान्छन्। यी दुवै बुझाइमा प्रारम्भिक बाल शिक्षाको वास्तविक उद्देश्य र व्यावहारिक स्वरूपबारे स्पष्टताको कमी रहेको देखिन्छ।

प्रश्न: प्रारम्भिक बाल शिक्षादेखि कक्षा ३ सम्मको अवधिलाई छुट्टाछुट्टै कक्षाका रूपमा नभई एउटै निरन्तर ‘प्रारम्भिक कक्षा’ का रूपमा विकास गर्नुपर्ने आवश्यकता किन पर्‍यो ?

उत्तर: बालबालिकाको सिकाइ कक्षा परिवर्तनसँगै अचानक सुरु वा समाप्त हुँदैन। प्रारम्भिक बाल शिक्षामा विकास भएका सीपहरू कक्षा १, २ र ३ मा थप विकसित हुँदै जान्छन्। तर हाम्रो शैक्षिक प्रणालीमा यी कक्षाहरूलाई छुट्टाछुट्टै कार्यक्रम र शिक्षण विधिका रूपमा हेर्ने प्रवृत्ति छ। खेलमा आधारित सिकाइबाट सीधै कक्षा १ मा पुग्दा बालबालिकालाई कडा अभ्यास र पाठ्यपुस्तकमा केन्द्रित हुनुपर्ने हुँदा सिकाइमा कठिनाइ हुने, विद्यालयप्रति रुचि घट्ने र पछाडि पर्ने जोखिम हुन्छ। त्यसैले सिकाइमा निरन्तरता दिन यसलाई एउटै चरणका रूपमा व्यवस्थित गर्नु आवश्यक छ।

प्रश्न: ‘अर्ली ग्रेड इकोसिस्टम’ (प्रारम्भिक कक्षा प्रणाली) भन्नाले बालबालिकाको सिकाइलाई प्रभाव पार्ने कुन-कुन पक्षहरूको अन्तरसम्बन्धलाई बुझाउँछ ?

उत्तर: ‘अर्ली ग्रेड इकोसिस्टम’ भन्नाले प्रारम्भिक कक्षामा बालबालिकाको सिकाइ र विकासलाई प्रभाव पार्ने सबै पक्षहरूको अन्तरसम्बन्धित व्यवस्थालाई बुझाउँछ। यसमा बालबालिका, अभिभावक, शिक्षक, विद्यालय, पाठ्यक्रम, सिकाइ सामग्री, मूल्याङ्कन, स्वास्थ्य, पोषण, सुरक्षा, स्थानीय समुदाय र सरकारी नीतिसमेत जोडिएका हुन्छन्। कक्षाकोठामा जति नै राम्रो शिक्षण विधि अपनाए पनि बालबालिका कुपोषण, असुरक्षा वा नियमित अनुपस्थितिको समस्याबाट प्रभावित छन् भने अपेक्षित सिकाइ उपलब्धि हासिल गर्न कठिन हुन्छ।

प्रश्न: प्रारम्भिक बाल शिक्षा र कक्षा १ देखि ३ सम्मका शिक्षकहरूको व्यावसायिक विकास र समन्वयलाई बलियो बनाउन कस्तो दृष्टिकोण अपनाउनुपर्छ ?

उत्तर: यी तहका शिक्षकहरूलाई छुट्टाछुट्टै तहको जनशक्ति मात्र मान्दा उनीहरूबीचको व्यावसायिक समन्वय कमजोर हुन सक्छ। ‘प्रारम्भिक कक्षा’ को अवधारणाले यी शिक्षकहरूलाई आधारभूत सिकाइ सुनिश्चित गर्ने साझा व्यावसायिक समूहका रूपमा विकास गर्न आधार दिन्छ। उनीहरूका लागि साझा तालिम, व्यावसायिक विकास, अनुभव आदानप्रदान, शिक्षण योजना निर्माण र सिकाइ प्रगतिको समीक्षा गर्ने अवसर सिर्जना गर्नुका साथै उيनीहरूको पेसागत सम्मान र सेवा-सुविधालाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्छ।

प्रश्न: नेपालका धेरै समुदायमा विद्यार्थी संख्या कम भएका विद्यालयहरू छन्, यस्ता ठाउँमा स्रोत र कक्षा व्यवस्थापन कसरी गर्न सकिन्छ ?

उत्तर: कम विद्यार्थी भएका विद्यालयहरूमा प्रारम्भिक बाल शिक्षा र कक्षा १ देखि ३ सम्मका कक्षा छुट्टाछुट्टै सञ्चालन गर्दा शिक्षक, कक्षाकोठा र सिकाइ सामग्रीको व्यवस्थापन चुनौतीपूर्ण हुन्छ। यस्तो अवस्थामा बालबालिकाको उमेरअनुसारको आवश्यकता र सिकाइको गुणस्तरमा सम्झौता नगरी, आवश्यकताअनुसार बहुकक्षा तथा बहुस्तर शिक्षणलाई व्यवस्थित गर्ने, शिक्षकबीच सहकार्य बढाउने र उपलब्ध सिकाइ सामग्री साझा रूपमा प्रयोग गर्ने एकीकृत स्रोत व्यवस्थापन गर्नुपर्छ।

प्रश्न: प्रारम्भिक चरणमा बालबालिकाको सिकाइ मूल्याङ्कन गर्दा अंक, अक्षर वा परीक्षालाई मात्र आधार बनाउन किन हुन्न भनिएको छ ?

उत्तर: प्रारम्भिक चरणमा बालबालिकाले कति अक्षर लेखे, कति अंक चिने वा परीक्षामा कति प्राप्ताङ्क ल्याए भन्ने कुरालाई मात्र मूल्याङ्कनको आधार बनाउनु हुँदैन। उनीहरूको भाषा विकास, सामाजिक व्यवहार, शिष्टाचार, समस्या समाधान गर्ने क्षमता, सहभागिता र उमेरअनुसारको प्रगतितर्फ पनि ध्यान दिनुपर्छ। मूल्याङ्कनको मुख्य उद्देश्य बालबालिकालाई राम्रो वा कमजोर भई वर्गीकरण गर्नु होइन, उनीहरूलाई अर्को चरणमा अघि बढ्न कस्तो सहयोग आवश्यक छ भन्ने पहिचान गर्नु हो।

प्रश्न: यो अवधारणालाई सफल बनाउन सरकार र स्थानीय तहले नीतिगत रूपमा कस्तो भूमिका खेल्नुपर्छ ?

उत्तर: सरकारले प्रारम्भिक बाल शिक्षालाई विद्यालय प्रवेशको पूर्वतयारीमा मात्र सीमित नराखी बाल अधिकार, समग्र विकास र आधारभूत सिकाइको महत्वपूर्ण चरणका रूपमा स्पष्ट रूपमा परिभाषित गर्नुपर्छ। राष्ट्रिय पाठ्यक्रम प्रारूप, शिक्षक व्यवस्थापन, विद्यालय सुधार योजना, बजेट र स्थानीय तहको शैक्षिक कार्यक्रमबीच समन्वय हुनुपर्छ। स्थानीय तहले पनि यसलाई साधारण कार्यक्रम वा औपचारिकतामा मात्र सीमित नराखी शिक्षा सुधारको पहिलो प्राथमिकतामा राखेर तथ्यमा आधारित योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्छ।

सम्बन्धित समाचार

ताजा न्यूज