सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त

काठमाडौं । सुरक्षासँग सम्बन्धित अति संवेदनशील सूचना चुहावट गरी पदीय आचरण विपरीत कार्य गरेको अभियोगमा सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल सेवाबाट बर्खास्त भएका छन्। गृह मन्त्रालयले उनलाई सेवाबाट हटाउने गरी विभागीय कारबाही गरेको हो। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले एआईजी दाहाललाई बर्खास्त गरिएको जानकारी दिएका छन्।

निजामती तथा प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने पदीय मर्यादा र प्रचलित कानून अनुसारको आचरण पालना नगरेको ठहर गर्दै सशस्त्र प्रहरीको सिफारिसमा मन्त्रालयले उक्त निर्णय लिएको हो। संवेदनशील गोप्य सूचना चुहावट गरी संगठनको अनुशासन र शान्ति सुरक्षामा प्रतिकूल असर पुर्‍याएको पाइएपछि उनलाई विभागीय कारबाहीका लागि मन्त्रालयसमक्ष सिफारिस गरिएको थियो। सोही सिफारिसका आधारमा सरकारले असोज १९ गते उनलाई पदबाट निलम्बन गरेको थियो।

मन्त्रालयले घटनाको विस्तृत छानबिनका लागि जाँचबुझ अधिकृत समेत तोकी प्रतिवेदन प्राप्त गरेपछि आजैका मितिदेखि लागू हुने गरी उनलाई बर्खास्त गरेको हो। गृह मन्त्रालयले मातहतका सम्पूर्ण कर्मचारीहरूबाट हुने पदीय आचरण विपरीतका कार्य, संवेदनशील सूचना चुहावट तथा शान्ति सुरक्षामा असर पुर्‍याउने गतिविधिमाथि सूक्ष्म निगरानी तथा विश्लेषण भइरहेको जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज