काठमाडौँ । सामाजिक सञ्जालमा एक महिलाको चरित्र हत्या गरेको गम्भीर आरोपमा अभियानी वेदिका केसी प्रहरीको फन्दामा परेकी छन्। नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई बिहीबार बिहान काठमाडौँको जोरपाटी क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
साइबर ब्युरोका एसपी दिलीप गिरीले दिएको जानकारीअनुसार एक पीडित महिलाले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या गरिएको भन्दै जाहेरी दर्ता गराएपछि अनुसन्धानको प्रक्रिया अघि बढाउनका लागि केसीलाई पक्राउ गरिएको हो। यद्यपि, प्रहरीले उजुरी दिने व्यक्ति र जाहेरीको विस्तृत व्यहोरा भने हाललाई खुलाएको छैन। पछिल्लो समय विभिन्न सामाजिक तथा सांस्कृतिक मुद्दाहरूमा धर्म, आस्था र परम्परासँग जोडिएका विषयमा सार्वजनिक बहस र टिप्पणी गर्दै आएकी केसीलाई यसै कसुरमा हिरासतमा लिएर थप अनुसन्धान थालिएको छ।

