अनलाइन ठगीमा विदेशी, ५ वर्षमा ५८ हजार नेपालीले पौने १२ अर्ब रुपैयाँ गुमाए

मकर श्रेष्ठ/निमजिन

काभ्रेमा नक्कली जापानी प्रहरी कार्यालय बनाएर अनलाइनबाट ठगी गरेको आरोपमा ७६ विदेशी पक्राउ परेका छन् । उनीहरूबाट ठगिनेको पहिचान अहिलेसम्म नभए पनि अनलाइन स्क्याममा पछिल्लो ५ वर्षमा ५८ हजार नेपालीले पौने १२ अर्ब रुपैयाँ गुमाएका छन् । 

काभ्रेको बल्थलीस्थित एउटा होटलको कोठाको भित्तामा राखिएको बोर्डमा जापानिज र अंग्रेजी भाषामा लेखिएको छ-ह्योगो पुलिस स्टेसन ।features-1719398032.png

पुलिस स्टेसनको बोर्ड राखिएको कोठाको एउटा टेबलमा असरल्ल सामान छन् । जसमा जापानिज र अंग्रेजी भाषा लेखिएका प्रहरीको आईडी कार्डको मुठ्ठै छ । परिचयपत्रसँगै टेबलमा चुरोटका ठुटा, नक्कली कपाल, मेकअपका बट्टा र इलेक्ट्रोनिक पार्टपुर्जा छन् ।

गत मंसिर २ गते दिउँसो २ बजे पनौती नगरपालिका—११ बल्थलीस्थित बल्थली माउन्टेन रिसोर्टमा इलाका प्रहरी कार्यालय, बनेपाबाट खटिएको प्रहरीले छापा मार्दा योे दृश्य देखिएको हो ।

रिसोर्टको अर्को कोठामा पनि यस्तै दृश्य छ । त्योे कोठाको अर्को भित्तामा टिकटक लाइभ सपको ब्यानर राखिएको छ । ब्यानरमा बौद्ध स्तूपा, रुद्राक्षको माला, माने, घण्टी, लुङ्दर र थाङ्काको तस्बिर राखिएका छन् । ब्यानर जापनिज भाषामै लेखिएको छ । रिसोर्टको तेस्रो कोठामा भने केही सोफा छन् । भित्तामा काठले बनाउँदै गरेका छुट्टाछुट्टै बुथ छन् ।

Cyber-Scam-NIMJN-1795676337.jpg
बल्थली माउन्टेन रिसोर्टका कोठा भित्र राखिएका बोर्ड र ब्यानर । तस्बिर सौजन्य : नेपाल प्रहरी

प्रहरीले यो रिसोर्टबाट ३५ जना जापानी र ५ जना चिनियाँ नागरिकलाई पक्राउ पनि गरेको छ । उनीहरूको साथबाट १ सय ४९ वटा मोबाइल, २७ वटा ट्याब, ६ वटा कम्प्युटर र ९ वटा ह्यान्ड सेट बरामद गरेको प्रहरीले जनाएको छ । नक्कली प्रहरी कार्यालय नै खडा गरेर उनीहरूले अनलाइन ठगीको धन्दा चलाएको हुन सक्ने भन्दै उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलञ्चोकका प्रहरी नायव उपरीक्षक रविन विष्टले बताए ।

बल्थलीमा छापा मार्नुभन्दा अघिल्लो दिन प्रहरीले पाँचखाल नगरपालिका–७ शिखरपुरको ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिक पक्राउ गरेको थियो । उनीहरूको साथबाट १ सय ६१ थान मोबाइल र ५१ वटा ल्यापटप बरामद गरेको छ । “ठगीमा पर्ने नेपाली हुुन वा विदेशी भन्ने अनुसन्धान गरिरहेका छौँ,” प्रहरी नायव उपरीक्षक रविन भन्छन्, “थप अनुसन्धान अघि बढाउन पक्राउ परेकालाई अध्यागमन विभागमा पठाएका छौँ ।”

बल्थली माउन्टेन रिसोर्टका मणि हुमागार्ईंले अनलाइन मार्केटिङको काम गर्ने भनेर उनीहरूले ४५ दिनका लागि रिसोर्ट बुक गरेको र उनीहरू बसेको २२ दिनमा पक्राउ परेको जानकारी दिए । प्रहरी, स्थानीय वडा कार्यालयलाई जानकारी गराएर कानुनी सम्झौता गरेर नै उनीहरूलाई राखेको उनले बताए । उनका अनुसार होटलको कोठाभित्रको संरचना उनीहरू आफैंले बनाएका हुन् ।

काभ्रेको बल्थली र शिखरपुरबाट पक्राउ परेका ७६ जना विदेशी नागरिकबाट ठगिनेको पहिचान प्रहरीले अहिलेसम्म गर्न सकेको छैन । तर अनलाइन स्क्याममा नेपाली भने ठगिइरहेका छन् । र, केही ठगीमा विदेशीसमेत संलग्न रहेको पाइएको छ ।

साइबर ब्युरोमा काम गरेका पूर्व एसपी पशुपति राय नेपालमा अपराध गरे पनि कडा कारबाही नहुने, सस्तोमा कामदार पाउने भएकाले साइबर अपराध गर्नेहरूले नेपाललाई रोज्ने गरेको बताउँछन् । उनी नेपालमा केन्द्र बनाएर विदेशमा ठग्ने र विदेशमा केन्द्र बनाउनेहरूले नेपालीलाई ठग्ने गरेको बताउँछन् । “जुन देशको नागकिरलाई टार्गेट गर्ने हो त्यही देशमा अखडा खडा गर्दा सहजै कारबाहीमा पर्ने भएपछि अन्य देशमा कार्यालय नै खडा गरेर बस्ने गरेका छन,” अधिवक्तासमेत रहेका उनी भन्छन्, “उनीहरू सुरक्षित ठाउँ खोजी गरेर आएका हुन् । नेपाल प्रहरीले अप्रेसन धेरै चलाएकै कारण पक्राउ पर्ने धेरै देखिएको हो ।”

नेपालबाट साइबर ठगी गरेको पैसा विदेश पनि पुग्ने गरेको छ । नेपाल राष्ट्र बैंकको फाइनान्सियल इन्टेलिजेन्स युनिटको स्ट्राटिजिक एनालाइसिस रिपोर्ट, २०२४ मा अनलाइनमार्फत ठगी भएको रकम विदेश जाने गरेको उल्लेख छ ।

नेपालमा ठगी भएको रकम सीमावर्ती भारतीय सहरका एटीएमबाट निकाल्ने, नेपाली आयातकर्ताहरूको इमेल ह्याक गरेर विदेशी निर्यातकको बैंक विवरण परिवर्तन गरी पैसा ट्रान्सफर गर्ने, क्रिप्टोकरेन्सी वा सट्टेबाजीमा लगाउने गरेको रिपोर्टमा उल्लेख छ ।

“नेपालीले भाडामा बैंक खाता दिएको हुन्छ । प्रहरीले अनुसन्धान थाल्दा त्यो रकम विदेशमा रहेकाको खातामा गइसकेको हुन्छ,” पूर्व एसपी पशुपति भन्छन्, “त्यसैले नेपाल ठगीमा पर्नेको रकम पनि पाउन गाह्रो भएको हो ।”

पछिल्लो ५ वर्षमा ठगीमा परेको भन्दै प्रहरीमा निवेदन दिनेको संख्यालाई आधार मान्दा नेपालमा दैनिक औसतमा ३२ जना अनलाइन ठगीमा पर्छन् । यो अवधिमा ठगीमा परेको भन्दै ५८ हजार जनाले ११ अर्ब ७६ करोड १९ लाख रुपैयाँभन्दा बढी गुमाएको उजुरी गरेका छन् ।

पीडितले प्रहरीमा दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा ५ वर्षमा ठगीमा ११ हजार ४ सय २२ नेपाली र ५ सय ६० जना विदेशी संलग्न रहेको पाइएको नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले बताए ।

ठगीमा संलग्न विदेशी नागरिकमध्ये सबैभन्दा धेरै भारतीय छन् । ५ वर्षमा भएका अनलाइन ठगीमा ५ सय १३ जना भारतीय नागरिक प्रत्यक्ष संलग्न रहेको प्रहरीको तथ्यांक छ । उनीहरूले फेसबुकमा विभिन्न बैंकको नाममा आकर्षक विज्ञापनमार्फत बोनस प्राप्त हुने भन्दै झूटो विज्ञापनका आधारमा ठगी गर्ने गरेका घटना धेरै छन् ।

कात्तिक १८, २०८२ मा पक्राउ परेका भारतीय नागरिकले सर्भेको नाममा लिंक पठाएको र त्यसमा क्लिक गरेपछि बैंक खाता ह्याक गरी रकम ट्रान्सफर गरेर ठगी गरेको पाइएको थियो ।

यस्तै, ५ वर्षमा भएका ठगीमा १२ जना चिनियाँ, ८ जना बंगलादेशका, २ जना पाकिस्तानका र अन्य देशका २५ जना नागरिकको संलग्नता देखिन्छ । “अपराधमा संलग्न भएर मुद्दा चलाएकाको मात्रै विवरण यसमा समेटिएको छ,” उनले भने, “मुद्दा नचलाई डिपोर्ट भएकाको विवरण समावेश छैन ।”

अनलाइन स्क्याम सञ्चालन गरेको आरोपमा पक्राउ परेकाहरूले नेपाली नागरिकलाई ठगीको उजुरी नपरेको भन्दै अध्यागमन विभागमा बुझाउने र अध्यागमनले सामान्य जरिवाना तिराएर देशनिकाला गर्ने गरेको छ ।

त्यसैअनुसार काभ्रेको बल्थली र शिखरपुरबाट पक्राउ परेका ७६ जनालाई पनि अध्यागमनमा बुझाइएको छ । “मुद्दा चलाउन पीडित चाहिने भएकोले थप अनुसन्धानका लागि अध्यागमन विभागमा पठाएका हौँ,” प्रहरी नायव उपरीक्षक रविनले भने, “उनीहरूबाट बरामद भएको विद्युतीय उपकरणबाट पीडितको पहिचान गर्ने प्रयास गरिरहेका छौँ ।” पर्यटक भिसामा आएको व्यक्ति गैरकानुनी क्रियाकलापमा संलग्न भएको पाइएकाले विभागमा पठाइएको उनले बताए ।

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले पर्यटक भिसाको दुरुपयोग गरेको पाइएपछि चिनियाँ र जापानिज नागरिकमाथि अनुसन्धान भइरहेको बताए ।

उनीहरूको ठगीको निसानामा नेपाली नागरिक परेको पाइएमा ठगीको मुद्दा अघि बढाइने प्रहरी नायव उपरीक्षक रविनले बताए । ठगीमा परेका पीडित नभेटिएमा अध्यागमन ऐनअनुसार पर्यटक भिसाको दुरुपयोग गरेको आरोपमा बढीमा ५० हजार रुपैयाँसम्म जरिवाना हुने महानिर्देशक रामचन्द्रले बताए ।

५ वर्षमा ५८ हजार निवेदन, मुद्दा दर्ता ८ सय ३९ मात्रै

अनलाइनमार्फत ठगीमा परेको भनेर साइबर ब्युरोमा जति उजुरी पर्ने गरेका छन्, त्यसको दाँजोमा छानबिन गरेर अदालतमा मुद्दा नै दायर भएका घटना भने ज्यादै न्यून छन् ।

गत ५ आर्थिक वर्षमा साइबर ठगीमा परेको भन्दै ५८ हजार ३ सय ४९ वटा उजुरी गरे पनि यो अवधिमा ८ सय ३९ वटा मुद्दा मात्रै दर्ता भएको छ । कुल निवेदनको तुलनामा मुद्दा दर्ताको अनुपात १ दशमल ४४ प्रतिशत देखिन्छ ।

साइबर ब्युरोका प्रवक्ता दीपकराजले पीडितले आफू ठगिएको उजुरी दिए पनि ठगी गर्ने व्यक्तिको पहिचान नभएसम्म मुद्दा प्रक्रिया अघि बढाउन नसकिएको बताए । “उजुरीको आधारमा अनुसन्धान गर्छौँ, ठगीमा संलग्न भएको प्रमाण भेटेपछि पीडितको जाहेरी लिएर मुद्दा दर्ता गर्छौँ,” उनले भने ।

प्रहरीमा जति निवेदन पर्छ, ती सबैमा मुद्दा नै चल्छ भन्ने नरहेको प्रहरी प्रवक्ता अविनारायण बताउँछन् । “धेरैजसो घटनामा पर्याप्त प्रमाण जुटाउन सकिँदैन, जसले गर्दा मुद्दा चलाउने आधार कमजोर बन्छ,” उनले भने । कतिपय घटनामा उजुरी पर्नेबित्तिकै प्रहरीले पैसा लिने व्यक्तिको बैंक खाता रोक्का राख्ने गरेको र पक्राउ परेका वा संलग्नता देखिएका व्यक्ति (उसको खाताबाट रकम अन्तै ट्रान्सफर भए पनि) ले रकम फिर्ता गरिदिने हुँदा मुद्दा अघि नबढ्ने उनले बताए ।

११ अर्ब ७६ करोड ठगी हुँदा पीडितले फिर्ता पाए ७० करोड 

ठगीमा परेर उजुरी दिने मध्येमा एक जनाले ३ करोड रुपैयाँभन्दा बढी गुमाएका छन् । ती पीडितले परिचय खुलाउन नचाहेपछि प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन ।

अनलाइन ठगीको अर्को एक घटनामा रकम नउठेपछि ठगीमा परेका व्यक्तिले ज्यानै गुमाएका छन् । १६ लाख रुपैयाँ अनलाइन ठगीमा परेपछि असोज ३०, २०८१ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का योगेश ठगुन्ना (२३) ले ज्यान गुमाएको प्रहरीले जनाएको छ । यी घटना र प्रहरीको तथ्यांकले ठगीको घटनासँगै ठगीको रकम बढेको र ठगीको रकम फिर्ता पाउन मुस्किल हुने गरेको देखिन्छ ।

आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्म ५८ हजार ३ सय ४९ पीडित भएका छन् । उनीहरूले ठगीमा ११ अर्ब ७६ करोड १९ लाख रुपैयाँभन्दा बढी गुमाएका छन् ।

तर प्रहरी अनुसन्धानपछि पीडितले फिर्ता पाएको रकम ७० करोड ८ लाख ८७ हजार रुपैयाँ मात्रै छ । अर्थात् कुल ठगी रकमको करिब ६ प्रतिशत मात्रै पीडितले फिर्ता पाएका छन् ।

पछिल्लो आर्थिक वर्षमा मात्रै २३ हजार ९ सय ५८ जना पीडितबाट ८ अर्ब १८ करोड रुपैयाँभन्दा बढी ठगी भएको छ । यो ५ वर्षको कुल ठगी रकमको करिब ७० प्रतिशत हो ।

ठगीको रकम बढ्दै जाँदा फिर्ता भएको रकमको अनुपात घट्दै गएको छ । २०७९/८० मा करिब ३३ प्रतिशत रकम फिर्ता भएकोमा २०८२/८३ मा यो घटेर ४ प्रतिशतमा झरेको छ । २०८२/८३ मा मात्रै करिब ७ अर्ब ८५ करोड रुपैयाँ पीडितले फिर्ता पाउन सकेका छैनन् ।

ठगीमा परेका पीडितले निवेदन दिएपछि त्यो रकम पत्ता लगाउन बैंकलाई पत्र लेख्ने र दूरसञ्चारबाट विवरण खोज्न एक हप्ताभन्दा बढी समय लाग्छ । यतिबेलासम्म ठगीको रकम ८—१० लेयर पार गरेर तल्लो तहसम्म छरिइसकेको हुन्छ । अर्थात् रकम धेरैतिर बाँडिएको हुन्छ । यस्तो स्थितिमा प्रहरी रकम ट्रान्सफर भएका खातावालासँग पुग्दा ती व्यक्तिले मोबाइल नम्बर र बैंक खाता भाडामा लगाएको वा आफ्नो खातामा आएको रकम अर्कोतिर ट्रान्सफर मात्रै गरिदिने गरेको पाइएको प्रहरीले जनाएको छ ।

“ती व्यक्ति वास्तविक ठगी गर्ने गिरोहभन्दा पनि गाउँघरमा गाई चराउँदै हिँड्ने र आम्दानीको कुनै स्रोत नभएका सामान्य नागरिक हुन्छन्,” प्रहरी प्रवक्ता अविनारायणले भने, “स्क्यामिङको योजना बनाउने मुख्य व्यक्ति त विकसित देशमा बसेको हुन्छ, उसको पहिचान नखुल्दा नियन्त्रणमा लिन सकिँदैन र पीडितको रकम उठाउन निकै गाह्रो हुन्छ ।”

यो समस्या समाधानका लागि भन्दै सरकारले गत कात्तिक २० देखि एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र सुरु गरेको छ । ठगीमा परेका व्यक्तिले उजुरी दिएपछि विस्तृत विवरण खोजी गर्न, बैकसँग समन्वय गर्दा समय लाग्ने र पीडितको रकम धेरै तह पार गरिसक्ने भएकाले सरोकारवाला निकायलाई एकै ठाउँ राखेर युनिट बनाइएको ब्युरोका प्रवक्ता दीपकराज अवस्थीले बताए । यो केन्द्र नेपाल प्रहरीको साइबर ब्युरो, बैंक, वालेट, दूरसञ्चार कम्पनीको संयुक्त युनिट हो ।

ठगीमा परेका व्यक्तिको रकम ट्रान्सफर भएकै खातामा तत्कालै रोक्का राख्न यो एकीकृृत युनिटले काम गर्ने प्रहरीले जनाएको छ । जसका लागि ठगीमा परेका व्यक्तिले तत्कालै १२४७ मा फोन गर्नुपर्ने हुन्छ ।

ठगी एक, तरिका अनेक

नेपालमा अनलाइन माध्यमबाट हुने ठगीका प्रकृति फरकफरक रहेको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराजले बताए । उनका अनुसार सामाजिक सञ्जाल ह्याक गरी वा नक्कली आईडी बनाएर ठगी गर्ने, बैंक तथा डिजिटल वालेटको कार्यालयबाट बोलेको भन्दै विश्वास दिलाएर रकम असुल्ने, ओटीपी, फिसिङ लिंक तथा स्क्रिन सेयरिङमार्फत बैंक तथा वालेटको पहुँच प्राप्त गरी रकम चोरी गर्ने गरेका छन् । चिठ्ठा, उपहार, पार्सल तथा पैसा पठाएको प्रलोभन देखाएर ठगी गर्ने घटनाहरू पनि उत्तिकै छन् ।

गत मंसिर ४ मा साइबर ब्युरोमा एक महिला ७ लाख ठगिएको भन्दै उजुरी गर्न आएकी थिइन् । नाम उल्लेख गर्न नचाहने ती महिलाले भनिन्, “तपाईंले आकर्षक उपहार जित्नुभएको छ, उपहार विदेशी हो कर र भन्सार तिर्नका लागि ७ लाख रुपैयाँ जम्मा गर्न भनेपछि मैले ऋण गरेर पैसा दिएपछि मात्रै ठगिएको थाहा पाएँ ।”

त्यस्तै, अपुताली प्राप्त हुने भन्दै रकम माग्ने, भिडियो सार्वजनिक गरिदिने धम्की दिई ब्ल्याकमेल गर्ने, टेलिग्राम, इन्स्टाग्राम तथा ह्वाट्सएपमार्फत अनलाइन काम र टास्कको प्रलोभन देखाउने, क्रिप्टोकरेन्सी, बाइनान्स, फरेक्स ट्रेड तथा अनलाइन लगानीका नाममा ठगी गर्ने, मास्टर कार्ड, गेमिङ, क्वाइन, यूसी तथा मनी एक्सचेन्जको कारोबारमा ठगी गर्ने प्रवृत्ति पनि देखिएको उनले बताए ।

यसका अतिरिक्त वैदेशिक रोजगारीमा पठाइदिने भनेर, अनलाइन किनमेल, अनलाइन टिकटिङ, पीटीई अन्तर्वार्ताको मिति बुक गरिदिने, अनलाइन ट्युसन र कोठा खोजिदिने बहानामा ठगी हुने गरेको उनले बताए ।

अनलाइन किनमेलमा सबैभन्दा बढी ठगी 

नेपाल प्रहरीको साइबर ब्युरोमा १ लाखभन्दा बढीको अनलाइनबाट हुने ठगीको घटनाको मात्रै निवेदन लिने गरेको छ । ब्युरोमा पछिल्लो ३ वर्षमा २० हजार १ सय ९१ जनाले आफू ठगिएको निवेदन दिएका छन् । आर्थिक वर्ष २०८०/८१ को तुलनामा २०८१/८२ मा घटना ८६ दशमलब ३ प्रतिशतले बढेको छ । त्यो वर्ष सबैभन्दा धेरै ७ हजार ७ सय ४० जनाले आफू ठगिएको निवेदन दिएका थिए ।

ब्युरोमा अनलाइन किनमेलको नाममा सबैभन्दा धेरै ठगी भएको छ । ४ वर्षमा ५ हजार १ सय ७८ अनलाइन किनमेलमा ठगिएको घटनाका उजुरी परेका छन् ।

स्तै, टेलिग्राम, इन्स्टाग्राम ह्वाटसपमार्फत अनलाइन रोजगारीको प्रलोभन देखाएर ठगी गरेको घटना ३ हजार २ सय ११ छन् । बैक, वालेट ह्याकिङ, लिंक फिसिङको ठगीका घटना २ हजार ५ सय ६८ छन् । त्यस्तै लोटरी, उपहार र पार्सल ठगीका घटना २ हजार ३ सय ३१ छन् ।

कभर तस्बिर : अनलाइन स्क्याम सञ्चालन गरेको आरोपमा जेठ १५, २०८३ मा काठमाडौंको ठमेलबाट पक्राउ परेका बंगलादेशी युवालाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा लगिँदै । तस्बिर : मकर श्रेष्ठ/निमजिन

यो सामग्री मूलरूपमा www.nimjn.org मा प्रकाशित भएको हो । (https://www.nimjn.org/np/detail/438/foreigners-involved-in-nepal-s-online-fraud )

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज