काठमाडौं । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षक पदबाट हटाइएको दाबी गर्दै निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दर्ता गराएको रिट निवेदनमा आगामी कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ।
कार्कीले आफ्ना वकिलहरूमार्फत सर्वोच्च अदालतमा रिट पेश गरेका थिए। अध्ययनका क्रममा रहेकाले सुरुमा दर्ता हुन नसकेको उक्त निवेदन सर्वोच्च अदालत प्रशासनले औपचारिक रूपमा दर्ता गर्दै कात्तिक ३० गतेका लागि सुनुवाइको पेशी तय गरेको हो।
सरकारले मन्त्रिपरिषद्को निर्णयमार्फत कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको थियो। तर, कार्कीले भने मन्त्रिपरिषद्को उक्त निर्णयको पत्र अझै नबुझी सरकारको कदमविरुद्ध कानुनी उपचारका लागि सर्वोच्च अदालत पुगेका हुन्।

