काठमाडौँ । सर्लाहीको बाग्मती म्युनिसिपल पार्क र रिसोर्ट निर्माणमा अनियमितता तथा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साह र बागमती नगरपालिकाका मेयर भरतकुमार थापासहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। उक्त पार्क तथा रिसोर्ट निर्माणको क्रममा राज्यको ३९ करोड ३९ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको दाबी अख्तियारले गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा प्रतिवादी बनाइएकाहरूमा पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साह, मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयका तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुर, बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मोक्तान र प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल रहेका छन्। यसैगरी, अर्थ मन्त्रालयका उपसचिव उद्धवराज न्यौपाने र निर्माण व्यवसायी कम्पनी विकोई धुलिखेल जेभीका प्रतिनिधि युवराज पोखरेललाई पनि प्रतिवादी बनाइएको छ।
आरोपीहरूमाथि विभिन्न कसुरअन्तर्गत फरक-फरक बिगो तथा जरिवाना माग दाबी गरिएको छ। अख्तियारका अनुसार मधेश प्रदेश सरकारका पूर्वअर्थमन्त्री साह र तत्कालीन सचिव ठाकुरमाथि ३५ करोड रुपैयाँ बिगो माग दाबी गरिएको छ। यसैगरी, बागमती नगरपालिकाका मेयर थापा, उपप्रमुख मोक्तान र प्रमुख प्रशासकीय अधिकृत पोखरेलमाथि कुल ३९ करोड ३९ लाख रुपैयाँ हानिनोक्सानी पुर्याएको मुख्य आरोप लगाइएको छ।
त्यस्तै, मधेश प्रदेश सरकारका उपसचिव उद्धवराज न्यौपानेमाथि २० करोड रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोप लगाइएको छ भने ठेकेदार कम्पनीका प्रतिनिधिमाथि पनि ३९ करोड ३९ लाख रुपैयाँ सरकारी सम्पत्ति हानिब्रेसाप र दुरुपयोग गरेको अभियोग लगाइएको छ। सार्वजनिक कोषको दुरुपयोग र परियोजना निर्माणमा व्यापक अनियमितता भएको भन्दै अख्तियारले विशेष अदालतमा कसुरको मात्रा अनुसार सजाय र बिगो असूल उपरको माग गर्दै अभियोग पत्र दायर गरेको हो।

