बागमतीमा एमालेका मन्त्रीहरूले बुझाए सामूहिक राजीनामा

हेटौँडा । बागमती प्रदेश सरकारबाट नेकपा (एमाले) का मन्त्रीहरूले सामूहिक रूपमा बाहिरिने निर्णय गरेका छन्। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग भेटेर राजीनामा बुझाउने पूर्वयोजना रहे पनि मुख्यमन्त्रीले भेट नदिएपछि उनीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै राजीनामा पत्र दर्ता गराएर बाहिरिएका छन्। निकट स्रोतका अनुसार मुख्यमन्त्री बानियाँ बुधबार चितवनतर्फको कार्यक्रममा गएका थिए।

राजीनामा दिने एमालेका मन्त्रीहरूमा कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ रहेका छन्। त्यसैगरी बिनाविभागीय मन्त्रीहरू किरण थापा मगर, भरतप्रसाद केसी र जयराम थापाले पनि सामूहिक राजीनामा दिएका छन्। वि.सं. २०८२ साउन २० गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठित यस सरकारमा एमाले तर्फबाट उनीहरू सहभागी थिए। मन्त्रीहरूले हस्ताक्षर गरेको राजीनामा पत्रमा कार्यकालभर सहयोग पुर्‍याउने मुख्यमन्त्री, प्रदेश सभा सदस्य, कर्मचारी, सञ्चारमाध्यम तथा सम्पूर्ण प्रदेशवासीप्रति धन्यवाद ज्ञापन गरिएको छ।

मन्त्रीहरूको राजीनामासँगै नेकपा (एमाले) ले प्रदेश सरकारलाई दिएको समर्थन पनि आधिकारिक रूपमा फिर्ता लिएको छ। एमालेका मन्त्रीहरूको यो कदमपछि बागमती प्रदेशको राजनीतिक समीकरणमा नयाँ मोड आएको छ र प्रदेशमा नयाँ राजनीतिक घटनाक्रमको बाटो खुलेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज