काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गड्तौलाले द्वन्द्व पीडितको आत्मसम्मान, सुरक्षा, सांस्कृतिक र सामाजिक पहिचानको रक्षा गर्दै नियमावली तयार गरिने बताउनुभएको छ ।
आयोगमा आज आयोजित नागरिक अधिकारकर्मीसँगको छलफलमा अध्यक्ष गड्तौलाले पीडितलाई केन्द्रमा राखेर आयोगले कामकारबाही अघि बढाउने बताउनुभयो । ऐनअनुसारको नियमावली तर्जुमा भइरहेको र नियमावलीलाई पीडितमैत्री बनाइने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“पीडितलाई जतिसक्दा चाँडो न्याय दिनुपर्ने अवस्था छ, पीडितलाई मलमपट्टी लगाउन सरोकारवालाले पनि सहयोग गर्नुपर्छ”, अध्यक्ष गड्तौलाले भन्नुभयो । उहाँले द्वन्द्व पीडित नागरिकलाई न्याय नपाउने अवस्था आउनै नदिइने दृढता व्यक्त गर्नुभयो ।
छलफलमा नागरिक अधिकारकर्मीले पीडितको आवाजलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिँदै बेपत्ताका परिवारजनलाई जतिसक्दो चाँडो न्याय दिने गरी काम गर्न सुझाव दिनुभयो । उहाँहरुले आयोगको काम परिणामुखी हुनुपर्ने र राहत तथा परिपूरणमा ध्यान दिनुपर्ने बताउनुभयो ।
आयोगले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन (तेस्रो संशोधन), २०७१ अनुरुपको नियमावलीको मस्यौदा तयार गरिरहेको छ । आयोगले यसअघि पनि नियमावलीलाई निष्कर्षमा पु¥याउन सरोकारवालासँग विभिन्न चरणमा छलफल गरिसकेको छ ।