विद्यालय शिक्षा विधेयक असार १३ गतेसम्म समितिबाट पारित हुने तयारी

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक यही असार १३ गतेसम्ममा पारित गर्ने तयारी गरेको छ। समितिका सभापति अम्मरबहादुर थापाका अनुसार विधेयकको विवादित बुँदामा सहमति जुटाउने प्रयास अन्तिम चरणमा पुगेको छ।

‘सकेसम्म भोलि पास गर्नेछौं, नभए पनि पर्सीभित्र समितिबाट पारित गर्ने तयारीमा छौं,’ सभापति थापाले जानकारी दिए।

यसै सन्दर्भमा समितिले असार १२ गते बिहान समन्वय उपसमितिको बैठक बोलाएको छ। बिहान ८ बजे सुरु हुने उक्त बैठकमा बाँकी विवादित विषयमा सहमति जुटाइ दिउँसो १ बजे समितिको पूर्ण बैठकमा पेश गरिनेछ।

शिक्षा विधेयकमा निजी विद्यालयको नियमन, प्रारम्भिक बाल विकास केन्द्र (ईसीडी)को संरचना, र शिक्षक व्यवस्थापनलगायतका मुद्दामा गहिरो बहस भएको थियो। हाल ती विषयहरू साँघुरो बन्दै गएका छन् भने केही मुद्दा मात्रै बाँकी छन्।

विधेयक एकीकृतरूपमा प्रतिनिधिसभाबाट पारित भएपछि, राष्ट्रिय सभामा पुग्नेछ। त्यहाँ पनि संसदीय प्रक्रियामार्फत छलफल र संशोधनको चरण पार गरेपछि प्रतिनिधिसभामा फिर्ता ल्याइनेछ।

राष्ट्रिय सभाको संशोधन प्रतिनिधिसभाले स्वीकार गरेपछि विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पेस गरिनेछ। राष्ट्रपतिको हस्ताक्षरपछि विधेयक ऐनका रूपमा कार्यान्वयनमा आउनेछ।

शिक्षक महासंघ र सरकारबीच गत वैशाख १७ गते भएको सहमतिअनुसार १५ असारभित्र शिक्षा ऐन जारी गर्ने सहमति भएको थियो। यसअघि चैत महिनामा शिक्षकहरूले १० दिन लामो शैक्षिक हड्तालसमेत गरेका थिए।

सम्बन्धित समाचार

ताजा न्यूज