काठमाडौँ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने भएको छ ।
आयोगले टेलिकमको बिलिङ प्रणालीमा अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध करिब ३३ करोड ४८ लाख रुपैयाँ बराबरको बिगो माग गर्दै मुद्दा अगाडि सारेको हो।
मुद्दामा टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलसमेत प्रतिवादी बनाइएका छन्। उनी यसअघि भ्रष्टाचार र अकुत सम्पत्ति मुद्दामा मुछिएपछि निलम्बनमा परेका थिए। त्यसपछि २०८१ सालको भदौमा सरकारले सङ्गीता पहाडीलाई प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको थियो।
अदालत स्रोतका अनुसार मुद्दा हाल रुजु प्रक्रियामा रहेकाले दर्ता हुन बाँकी छ। अख्तियारले भ्रष्टाचारको संरचना अनुसन्धान गरी संलग्न सबै पक्षलाई कानुनी दायरामा ल्याउने उद्देश्यले यो कदम चालेको जनाएको छ।
सूत्रका अनुसार यो प्रकरणमा टेलिकमभित्रको आन्तरिक प्रणाली, ठेक्का प्रक्रिया र प्रविधि उपयोगमा देखिएको अनियमितता मुख्य जाँचको विषय बन्नेछ। मुद्दा दर्ता भएसँगै विशेष अदालतमा प्रारम्भिक सुनुवाइ प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।