कालो टीका लगाउने बहादुर न्यायाधीशलाई जनताले बिर्सने छैनन्ः नारायणकाजी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई सफाइ दिने फैसला गर्ने न्यायाधीशहरूलाई ‘कालो दिनको कालो टीका लगाउने बहादुर’ भन्दै तीव्र आलोचना गरेका छन्।

श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक टिप्पणी गर्दै जनकपुर उच्च अदालतको फैसला नेपालको न्यायिक इतिहासमै कलंकको रूपमा अंकित हुने दाबी गरेका छन्।

ईँटाभट्टामा मानिस जिउँदै जलाएको अभियोगमा जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो, तर उच्च अदालतले सोही अभियुक्तलाई सफाइ दियो। यसले आम नागरिकमा भयावह अवस्था सिर्जना गरेको छ, श्रेष्ठको भनाइ छ।

श्रेष्ठले न्यायिक प्रणालीमा व्यापक सुधार, रुपान्तरण र उत्तरदायित्व सुनिश्चित गर्ने अभियान जरुरी रहेको बताएका छन्। उनले प्रश्न गरेका छन्, अपराधमा संलग्न व्यक्तिहरू समाजमा निर्दोष बन्दै हिँड्ने अवस्थाले समाजमा कस्तो त्रासदी निम्त्याउँछरु यसको जवाफ कसले दिने ?

सम्बन्धित समाचार

ताजा न्यूज