काठमाडौँ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेको समाचार लेख्ने नेपाली पेन अनलाइनका प्रधान सम्पादक डा. दीपेश केसी र कार्यकारी सम्पादक सञ्चिता बानियाँलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले दुवै पत्रकारलाई जनही पाँच–पाँच हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
गत वैशाख ८ गते नेपाली पेन अनलाइनले ‘प्रधानन्यायाधीशले पूर्वराजालाई किन भेटे ?’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। समाचार सार्वजनिक भएपछि सर्वोच्च अदालतमा कार्यरत नायब सुब्बा कमला रेग्मी र कम्प्युटर असिस्टेन्ट रमेश बजगाईंले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए।
मुद्दा दर्ता भएपछि अनलाइनले समाचार हटाएको थियो। वैशाख १० गते सर्वोच्चले प्रधान सम्पादक र कार्यकारी सम्पादकलाई बयानका लागि बोलाउने आदेश दिएको थियो। आइतबार उनीहरूको बयानपछि प्रारम्भिक बहस गरिएको थियो। बयानका क्रममा डा. केसीले समाचार तथ्यमा आधारित रहेको र स्रोत संवेदनशील भएकाले सार्वजनिक नगर्ने अडान दोहोर्याएका थिए।