काठमाडौं । हालै गठन भएको नेपाल विश्वविद्यालयले पहिलोपटक उपकुलपति र रजिष्ट्रारको नियुक्ति गरेको छ। उपकुलपतिमा वरिष्ठ चिकित्सक तथा शैक्षिक प्रशासक डा. अर्जुन कार्की नियुक्त भएका छन्। उनी यसअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उप–कुलपतिको जिम्मेवारीसमेत सम्हालिसकेका अनुभवी व्यक्तित्व हुन्।
नेपाल विश्वविद्यालय ऐन, २०८१ बमोजिम गठित सिफारिस समितिको सिफारिसमा विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रष्टी) ले डा. कार्कीलाई नियुक्त गरेको हो।
त्यस्तै, विश्वविद्यालयको रजिष्ट्रारमा सार्वजनिक नीति तथा पूर्वाधार विकासका विज्ञ डा. सूर्यराज आचार्य नियुक्त भएका छन्। उनी पूर्व योजना आयोगका सदस्यसमेत रहेका छन् र नीति निर्माण, विकास योजना तथा शिक्षाको क्षेत्रमा उनको योगदान उल्लेखनीय रहेको छ।
विश्वविद्यालय स्रोतका अनुसार दुवै पदाधिकारीको नियुक्ति नेपाल विश्वविद्यालय ऐनअनुसार सिफारिस समितिको सिफारिसका आधारमा परिषद तथा कुलपतिबाट गरिएको हो।
नवनियुक्त उपकुलपति र रजिष्ट्रारसँग विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा रणनीतिक दिशालाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।