केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्यु, सांसदहरूद्वारा एनओसी बन्द गर्न माग

काठमाडौं । भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थीहरूको दोहोरिएको निधनपछि नेपाली सांसदहरूले विश्वविद्यालयप्रति कडा चिन्ता व्यक्त गर्दै सरकारलाई तुरुन्त कारबाही गर्न माग गरेका छन्।

आइतबार राष्ट्रिय सभाको आकस्मिक बैठकमा बोल्दै सांसदहरूले उक्त विश्वविद्यालयमा हालै वीरगञ्जकी छात्रा प्रिसा साहको निधन भएको र यसअघि सोही विश्वविद्यालयमा प्रकृति लम्सालको पनि मृत्यु भइसकेको घटनालाई उदाहरण दिँदै विद्यार्थीकालागि खतरनाक सावित भइरहेको बताएका छन्।

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले केआईआईटी विश्वविद्यालयमा नेपाल सरकारले अब एनओसी (No Objection Certificate) जारी गर्न नहुने स्पष्ट रुपमा माग गरे। ‘‘उस्तै प्रकृतिका घटनाहरू बारम्बार दोहोरिनु गम्भीर विषय हो, यस्तो कलेजमा विद्यार्थी पठाउने अनुमति दिनुहुन्न,’’ उनले भने।

नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी साहले पनि विश्वविद्यालयमा गहिरो समस्या रहेको संकेत गर्दै सरकारले गम्भीर ढंगले मूल्यांकन गर्नुपर्नेमा जोड दिइन्। ‘‘जहाँ नेपाली विद्यार्थी सुरक्षित छैनन्, त्यस्तो ठाउँमा एनओसी दिनु हुँदैन,’’ उनले भनिन्।

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शेखर कुमार सिंहले भने चार महिनाको अन्तरालमा यस्तै दुःखद घटना पुनः दोहोरिनु चिन्ताजनक भएको भन्दै सरकारलाई समयमै आवश्यक नीति तथा कदम चाल्न आग्रह गरे।

सांसदहरूले यस्तो घटनाले सम्पूर्ण अभिभावक र विद्यार्थीहरूलाई मानसिक पीडा दिने उल्लेख गर्दै विद्यार्थी सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेका छन्।

सांसदहरूको आह्वान अनुसार, अब सरकारको ध्यान केआईआईटी विश्वविद्यालयप्रति कसरी केन्द्रित हुन्छ भन्ने कुराले आगामी दिनमा विदेशी शिक्षण संस्थाहरूमा नेपाली विद्यार्थीहरूको भविष्यलाई मार्गनिर्देशन गर्नेछ।

सम्बन्धित समाचार

ताजा न्यूज