सहकारी ठगी प्रकरणः सांसद माया राईको हिरासत म्याद थप, पाँच दिन थप अनुसन्धान हुने

काठमाडौँ । कांग्रेसकी सांसद माया राईको हिरासत म्याद थप गरिएको छ। सहकारी ठगी प्रकरण र संगठित अपराधको आरोपमा पक्राउ परेकी राईलाई जिल्ला अदालत काठमाडौँले थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार, शुक्रबार न्यायाधीश पदमराज पाण्डेको इजालसले पाँच दिनको म्याद थप गर्ने आदेश दिएको हो। राईलाई वैशाख १३ गते कपनस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो।

उनी कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा सहसचिवका रूपमा कार्यरत रहँदै ठगीमा संलग्न रहेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, राईसहित अन्य सञ्चालकहरूले सहकारीका ६९० भन्दा बढी बचतकर्ताको अर्बौं रुपैयाँ हिनामिना गरेको आशंका छ।

उक्त प्रकरणमा सांसद राईविरुद्ध संगठित अपराधसमेतको अभियोगमा मुद्दा अघि बढाइएको छ। प्रहरीले थप अनुसन्धानका लागि आवश्यक प्रमाण संकलन गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज