पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेलाई सूर्यदर्शन सहकारी प्रकरणमा थप अनुसन्धानका लागि कास्की जिल्ला अदालतले चार दिनको म्याद थप गरेको छ। मंगलबार न्यायाधीश हिमलाल बेलबासेको इजलासले लामिछानेसहित छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङलाई हिरासतमा राख्न अनुमति दिएको हो।
उनीहरूलाई संगठित सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा संलग्न रहेको आरोपमा अनुसन्धान गर्नुपर्ने भन्दै कास्की प्रहरीले म्याद थपको निवेदन दिएको थियो। असोज ६ मा पक्राउ परेका जोशीका लागि यो नवौंपटक म्याद थप गरिएको हो भने कात्तिक २ मा पक्राउ परेका लामिछानेका लागि यो आठौंपटक म्याद थप गरिएको हो।