दशैँ बिदामा पनि काठमाडौँ जिल्ला अदालत खुला रहने, आकस्मिक सेवा प्रवाह हुने

काठमाडौँ । विजया दशमी पर्वका अवसरमा अदालतमा बिदा हुने भए पनि काठमाडौँ जिल्ला अदालतबाट नागरिकको संवैधानिक हक र आकस्मिक न्यायिक प्रक्रियासँग सम्बन्धित महत्त्वपूर्ण सेवाहरू निरन्तर प्रवाह हुने भएका छन्। अदालतले असोज २५ देखि कात्तिक ८ गतेसम्म बिदाको अवधि तोके पनि तोकिएका केही मुख्य पर्व र शनिवारबाहेकका दिनहरूमा अदालत खुला राखी सेवा दिने व्यवस्था मिलाएको हो।

अदालत प्रशासनका अनुसार घटस्थापना, शनिवार, फूलपाती र विजया दशमी टीकाको दिनबाहेक अन्य बिदाका दिनहरूमा बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म अदालत खुला रहनेछ। यस अवधिमा नागरिकको वैयक्तिक स्वतन्त्रताको रक्षाका लागि महत्त्वपूर्ण मानिने बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता तथा सुनुवाइ प्रक्रिया अगाडि बढाउने व्यवस्था मिलाइएको छ।

यसै गरी कसुर अनुसन्धानका क्रममा अनुसन्धान अधिकारीहरूले पेस गर्ने जरुरी पक्राउ पूर्जीको समर्थन गर्ने र सोही क्रममा उपस्थित गराइने अभियुक्तहरूको म्याद थप गर्नेसम्बन्धी न्यायिक कार्यहरू सम्पादन हुनेछन्। अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउन प्रहरीलाई आवश्यक पर्ने पक्राउ अनुमति प्रदान गर्ने तथा कल डिटेल्स (सीडीआर) सम्बन्धी अनुमति दिने कार्य पनि बिदाको समयमा जारी रहने अदालतले जनाएको छ।

न्यायिक हिरासत र थुनामा रहेका व्यक्तिहरूको हक र सुविधालाई ध्यानमा राख्दै अदालतले धरौटी र जरिवाना दाखिलासम्बन्धी सेवालाई समेत निरन्तरता दिएको छ। जसअनुसार यसअघि धरौटी दाखिल गर्न नसकेर थुनामा पठाइएका प्रतिवादीहरूले रकम बुझाउन ल्याएमा सो रकम बुझेर थुनामुक्त गर्ने प्रक्रिया अघि बढाइनेछ। साथै, अदालतको फैसला बमोजिम ठहर भएको जरिवाना रकम तिरेर छुट्न सक्ने अवस्था रहेका व्यक्तिहरूका लागि जरिवाना रकम बुझ्ने व्यवस्था समेत गरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज