काठमाडौं । चितवन जिल्ला अदालत माओवादी नेता कालीबहादुर खामलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ । बिहीबार र शुक्रबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दयाराम ढकालले खामलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएका हुन् ।
२०६५ वैशाख २८ गते चितवन शक्तिखोरमा रहेको तत्कालीन जनमुक्ति सेनाको तेस्रो डिभिजनमा कोटेश्वरका व्यपारी रामहरि श्रेष्ठको हत्या भएको थियो । खाम त्यो बेला तेस्रो डिभिजनका कमाण्डर थिए । श्रेष्ठको कोटेश्वरस्थित घरमा तेस्रो डिभिजनको सम्पर्क कार्यालय थियो । कार्यालयबाट १७ लाख रूपैयाँ नगद र हतियार हराएपछि सोधपुछ छानबिनका लागि भनेर श्रेष्ठलाई शक्तिखोर ल्याइएको थियो । शिविरभित्रै श्रेष्ठको कुटपिटबाट हत्या भएको पुष्टि भएपछि श्रेष्ठकी श्रीमती रमिलाले श्रेष्ठको उक्त घटना तेस्रो डिभिजन शिविरका डिभिजन कमाण्डर खामको निर्देशनमा भएको दाबी गर्दै मृतककी श्रीमती रमिला श्रेष्ठले प्रहरीमा खामसहित अर्का कमाण्डर गोविन्दबहादुर बटला, केशव अधिकारी र गंगाबहादुर थापा लगायतविरुद्ध जाहेरी दिएकी थिइन् ।
जनमुक्ति सेनाका डिभिजन कमान्डर खामको निर्देशनमा ब्रिगेड कमान्डर बटालाले २०६५ वैशाख १५ गते श्रेष्ठलाई अपहरण गरी चोरी कबुल गराउन काठमाडौंबाट चितवन ल्याएका थिए। त्यसको १३ दिनपछि वैशाख २८ गते श्रेष्ठको हत्या भयो। त्रिशूली नदीमा फालिएको श्रेष्ठको शव नारायणी नदीमा भेटिएको थियो।
मंगलबार प्रहरीले काठमाडौंबाट खामलाई पक्राउ चितवन लगेको थियो ।
अदालतमा बयानका क्रममा खामले घटनामा आफ्नो संलग्नता नरहेको भनेर अदालतमा इन्कारी बयान दिएका थिए । तर अदालतले जाहेरी परेको र मौकामा घटना विवरण कागज लेखाउनेहरूले दिएको विवरण, पोष्टमार्टम रिपोर्ट, मुचुल्का कागज लगायत तत्काल उपलब्ध प्रमाणले खामको संलग्नता नरहेको भनेर अहिल्यै भन्न सकिने अवस्था नहरेको हुँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी अहिलेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको दिएको हो ।