काठमाडौं । सहकारीका बचतकर्ताको रकम अपचलन गरी सम्पत्ति शुद्धीकरण गरेको कसुरमा विशेष अदालतले संविधानसभा सदस्य एवं सिभिल सहकारीका तत्कालीन सञ्चालक इच्छाराज तामाङसहित तीन जनालाई दोषी ठहर गर्दै ३ अर्ब रुपैयाँभन्दा बढी जरिवाना असुल्ने फैसला गरेको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा इच्छाराजसहित तीन जनालाई ३ अर्ब जरिवाना विशेषका अध्यक्ष (न्यायाधीश) टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङ, उनकी श्रीमती सिर्जना शाक्य तामाङ र सिभिल सहकारीका सञ्चालक केशवलाल श्रेष्ठबाट जरिवाना असुल गर्नुपर्ने फैसला सुनाएको हो ।
जरिवाना असुल्न तामाङसहित ६ जनाका नाममा रहेका चल अचल सम्पत्ति जफत गर्न पनि विशेष अदालतले आदेश दिएको छ । प्रतिवादी तीनै जनालाई अदालतले माघ ७ मा दोषी ठहर गर्दै आइतबार (माघ २१) सजाय निर्धारण गर्ने जनाएको थियो । विशेष अदालतका उपरजिस्ट्रार एवं प्रवक्ता धनबहादुर कार्कीका अनुसार तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२ करोड ४४ लाख रुपैयाँ बराबरको जरिवाना तोकिएको छ । सिर्जनालाई १ अर्ब ३ करोड ५४ लाख र श्रेष्ठलाई २५ करोड ६५ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।
दुवैलाई समान १ वर्ष ६ महिना कैद सजाय पनि निर्धारण गरिएको छ । दोषी ठहर तामाङ एमालेका तर्फबाट दोस्रो संविधानसभा सदस्य बनेका थिए ।