काठमाडौं । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडपको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। गृहमन्त्री सुदन गुरुङको उपस्थितिमा बिहान बसेको बैठकले घटनाको विस्तृत अध्ययन गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिने दीर्घकालीन समाधानका उपायसहित सात दिनभित्र प्रतिवेदन बुझाउने गरी उक्त समितिलाई कार्यादेश दिएको छ।
आइतबार राति भएको उक्त झडपमा परी एक जनाको मृत्यु हुनुका साथै केही सर्वसाधारण र सुरक्षाकर्मीहरू घाइते भएका थिए। घटनाले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सम्भावित जोखिमलाई मध्यनजर गर्दै देवानगन्ज र हरिनगर गाउँपालिकाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। शान्ति सुरक्षा कायम गर्न प्रशासनले नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र कर्फ्युको पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।
यसैबीच, सुनसरीको पछिल्लो सुरक्षा अवस्था र घटनापछिको परिस्थितिको समीक्षा गर्न आजै बेलुका ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान गरिएको छ। गृह मन्त्रालयका सूचना अधिकारी रमा आचार्य सुवेदीका अनुसार उक्त बैठकमा जिल्लाको समग्र शान्ति सुरक्षालाई कसरी सामान्य अवस्थामा फर्काउने भन्ने विषयमा थप छलफल हुनेछ।

