काठमाडौं । विपद् तथा आपतकालीन अवस्थामा नागरिकलाई मोबाइल फोनमार्फत छिटो र प्रभावकारी पूर्वसूचना दिने उद्देश्यले सरकारले स्वदेशमै विकसित ‘सेल ब्रोडकास्ट प्रणाली’ (Cell Broadcast System) को परीक्षण अघि बढाएको छ। परीक्षणका क्रममा मोबाइल स्क्रिनमा चर्को आवाज र भाइब्रेसनसहित आपतकालीन सतर्कता सन्देश आउन सक्ने भएकाले प्रयोगकर्तालाई नआत्तिन सूचना तथा सञ्चार प्रविधि मन्त्रालय र गृह मन्त्रालयले संयुक्त रूपमा आग्रह गरेका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेका अनुसार काठमाडौंको बलम्बुस्थित नेपाल टेलिकमको अर्थ स्टेसनबाट यो प्रणालीको प्राविधिक परीक्षण गरिएको हो। हालका लागि सीमित तथा परीक्षणमा छानिएका मोबाइल सेटहरूमा मात्र यस्तो सन्देश पुग्न सक्ने र कुनै पनि किसिमको प्रतिकार वा कदम चाल्नु नपर्ने प्राधिकरणले स्पष्ट पारेको छ।

