नेपाल–भारत द्विपक्षीय वार्तामा आठ क्षेत्रमा समझदारीपत्र आदानप्रदान, ६ परियोजना अघि बढाउने सहमति

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा दुईदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्र आदानप्रदान भएको छ। सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुई प्रधानमन्त्रीबीच उच्चस्तरीय द्विपक्षीय तथा प्रतिनिधिमण्डलस्तरीय वार्तापछि यी सम्झौता भएका हुन्।

भ्रमणका क्रममा दुई देशबीच पूर्वाधार र कनेक्टिभिटीसम्बन्धी ६ वटा परियोजना अघि बढाउने सहमतिसमेत भएको छ भने केही परियोजनाको संयुक्त उद्घाटन तथा शिलान्यास गरिएको छ। वार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे सहभागी हुनुहुन्थ्यो। भारतका तर्फबाट विदेशमन्त्री डा. एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र उच्च सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो।

समझदारी भएका आठ प्रमुख क्षेत्र : 

१. स्याटेलाइट सञ्चार: दक्षिण एसियाली भूउपग्रहको उपयोग गर्दै भूउपग्रहमा आधारित सञ्चार सञ्जाल स्थापना गर्न भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच समझदारीपत्र आदानप्रदान भएको छ।
२. निजामती कर्मचारीको क्षमता विकास: नेपाली निजामती कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि तालिम कार्यक्रम सञ्चालन गर्न भारतको नेसनल सेन्टर फर गुड गभर्नेन्स र नेपालको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच समझदारी भएको छ।
३. स्वास्थ्य तथा चिकित्सा: स्वास्थ्य सेवा र चिकित्सा क्षेत्रमा सहकार्य विस्तार गर्न भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपालको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
४. दिगो सहरी विकास: सहरी पूर्वाधार र दिगो सहरी विकासका क्षेत्रमा प्राविधिक सहकार्य अघि बढाउन दुई सरकारबीच समझदारी भएको छ।
५. आयुर्वेद तथा परम्परागत चिकित्सा: आयुर्वेद र उपचारका अन्य परम्परागत पद्धतिहरूमा सहकार्य गर्न दुई सरकारबीच समझदारीपत्र आदानप्रदान गरिएको छ।
६. पशुपालन तथा मत्स्यपालन: पशुपालन र मत्स्य विकासका क्षेत्रमा अनुभव, प्रविधि र सहकार्य आदानप्रदान गर्न दुई देशबीच समझदारी भएको छ।
७. अपराध अनुसन्धान तथा फरेन्सिक विज्ञान: शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि गुजरातको गान्धीनगरस्थित नेसनल फरेन्सिक साइन्सेस युनिभर्सिटी र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच समझदारी भएको छ।
८. प्रहरी प्रशिक्षण: प्रहरी जनशक्तिको तालिम र क्षमता अभिवृद्धिका लागि भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबीच समझदारीपत्र आदानप्रदान भएको छ।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज