काठमाडौँ । सिरहामा ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा पक्राउ पुर्जी जारी भएका एक व्यक्तिलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएर पनि छाडिदिएको गम्भीर आरोप पीडित पक्षले लगाएका छन् ।
सिरहाको लहानस्थित इलाका प्रहरी कार्यालयमा मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी भएका धनुषाको मिथिला बिहारी नगरपालिका–१ का ५४ वर्षीय कुशेश्वर साहलाई प्रहरीले पक्राउ गरेर पनि प्रक्रिया पूरा नगरी बाटोबाटै छाडिएको दाबी गरिएको छ ।
लहानबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले जनकपुरधामबाट साहलाई पक्राउ गरी हत्कडी लगाएर मुजेलिया प्रहरीको जिम्मा लगाएको थियो । तर, जिल्ला प्रहरी कार्यालयमा उपस्थित नगराई माथिल्लो दबाबको भरमा छाडिएको पीडितहरूको भनाइ छ ।
आर्थिक वर्ष २०८१ मा धान बिक्री गरेबापतको रकम नपाएपछि किसानहरूले साहविरुद्ध उजुरी दिएका थिए । लामो प्रयासपछि मात्रै मुद्दा दर्ता भए पनि प्रहरीले अभियुक्तलाई संरक्षण दिएको पीडितहरूको आरोप रहेको छ ।
यस घटनाबारे जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ताले आफूलाई यस विषयमा कुनै जानकारी नरहेको र यसबारे बुझ्ने काम भइरहेको बताएका छन्।
कानूनी प्रक्रिया छलेर अभियुक्तलाई छाडिएको भनिएको यस घटनाले प्रहरीको भूमिकामाथि प्रश्न उठाएको छ भने यसको निष्पक्ष छानबिन हुनुपर्ने माग उठेको छ ।

