काठमाडौं । अर्कै व्यक्तिको नाम र फर्जी हस्ताक्षर प्रयोग गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुटा उजुरी दिने रुकुम पश्चिमका एक व्यक्तिलाई कारबाही गरिएको छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का दीपक पुन मगरलाई आयोगले २ हजार रुपैयाँ जरिवाना गराउने निर्णय गरेको हो।
नेपाल प्रहरीका एक डीआईजीले सहकारीको ऋण भुक्तानीसम्बन्धी विषयमा उजुरी मिलाइदिने भन्दै ४० लाख रुपैयाँ मागेको र त्यसमध्ये १५ लाख लिइसकेको दाबी गर्दै ‘एबी राई’ (आङबाबु राई) को नामबाट अख्तियारमा उजुरी परेको थियो।
उक्त उजुरीमाथि छानबिन गर्दा उजुरीकर्ता भनिएका आङबाबु राईले आफूले अख्तियारमा कुनै उजुरी नदिएको र त्यसमा भएको हस्ताक्षरसमेत आफ्नो नभएको सनाखत गरेका थिए। त्यसपछि भएको अनुसन्धानका क्रममा दीपक पुन मगरले राईको स्वीकृति र जानकारीबिना नै उनको नाम र हस्ताक्षर प्रयोग गरी फर्जी उजुरी दर्ता गराएको स्वीकार गरेका हुन्।
बयानका क्रममा पुन मगर र राई दुवैले प्रहरी डीआईजीबाट रकम माग गरिएको वा धम्की दिइएको भनिएको त्यस्तो कुनै घटना नै नभएको स्पष्ट पारेको अख्तियारले जनाएको छ।
अर्कै व्यक्तिको नाम र दस्तखत प्रयोग गरी अरूलाई दुःख तथा हैरानी दिने बद्नियतले झुटा उजुरी दिएको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन, २०४८ को दफा ४९ लगायत प्रचलित कानुनबमोजिम पुन मगरलाई २ हजार रुपैयाँ जरिवाना गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

